कञ्चनपुर ।
कञ्चनपुरमा हुलाक सेवा विभागअन्तर्गत सञ्चालित ईएमएसलाई थप व्यवस्थित, सुरक्षित, छरितो र सेवाग्राही मैत्री बनाउने विषयमा सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालय र हुलाक सेवा विभाग, बबरमहल काठमाडौंको समन्वय तथा जिल्ला हुलाक कार्यालय कञ्चनपुरको सहजीकरणमा बिहीबार महेन्द्रनगरस्थित होटल कलशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ईएमएस सेवाको वर्तमान अवस्था, सेवा प्रवाहमा देखिएका समस्या, सेवाग्राहीका गुनासा, डेलिभरी प्रक्रिया, ट्र्याकिङ प्रणाली, सुरक्षा व्यवस्था तथा सेवा विस्तारका सम्भावनाबारे छलफल गरिएको थियो।
सहभागीहरूले प्रविधिको विकाससँगै सञ्चारका माध्यम परिवर्तन भए पनि महत्वपूर्ण कागजात तथा सामग्री सुरक्षित रूपमा आदानप्रदान गर्न हुलाक सेवाको भूमिका अझै महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले बदलिँदो समयअनुसार ईएमएसलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए।
विशेषगरी विदेशमा रहेका नेपाली तथा विदेशबाट नेपालमा कागजात र सामग्री पठाउने सेवाग्राहीले भोग्ने समस्या समाधान गर्न डेलिभरीलाई छिटो बनाउने, ट्र्याकिङ प्रणालीलाई भरपर्दो बनाउने र सामग्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा सहभागीहरूले राखेका थिए। साथै, सेवाग्राहीलाई समयमै जानकारी उपलब्ध गराउने तथा गुनासोको शीघ्र सम्बोधन गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा रहेका थिए। प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरी र प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी कैलाली जिल्ला हुलाक कार्यालयका प्रमुख सिद्धराज जोशीसहित हुलाक सेवा विभाग तथा विभिन्न सम्बन्धित कार्यालयका अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो।
जिल्ला हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रयागराज उपाध्यायले गरेका थिए। कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गालसहित विभाग तथा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो।
अन्तरक्रियाका क्रममा कर्मचारीको दक्षता अभिवृद्धि, आवश्यक तालिम, आधुनिक प्रविधिको प्रयोग, सेवा केन्द्रको विस्तार, नियमित अनुगमन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने विषय उठाइएको थियो।
सहभागीहरूले हुलाक सेवाको पहिचानलाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी डिजिटल युगको आवश्यकताअनुसार आधुनिक तथा नागरिककेन्द्रित सार्वजनिक सेवाका रूपमा विकास गर्नुपर्ने बताएका थिए।
ईएमएस सेवामा पारदर्शिता, सुरक्षा, जवाफदेहिता र समयमै सेवा उपलब्ध गराउने प्रणाली मजबुत बनाउन सके सेवाग्राहीको विश्वास बढ्ने उनीहरूको भनाइ थियो। साथै, सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी समाधानका लागि हुलाक कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच नियमित सहकार्य आवश्यक रहेको औँल्याइएको थियो।
अन्तरक्रियाले कञ्चनपुरसँगै सुदूरपश्चिम प्रदेशमा ईएमएस सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारका लागि आवश्यक आधार तयार गरेको आयोजकको अपेक्षा छ। छलफलबाट आएका सुझावलाई व्यवहारमा कार्यान्वयन गर्दै ईएमएसलाई थप छिटो, सुरक्षित, भरपर्दो र सेवाग्राहीमैत्री बनाउने दिशामा अघि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
