दार्चुलामा दूध र मासु मागभन्दा उत्पादन बढी

दार्चुला । दार्चुला जिल्लामा दूध र मासु मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै दार्चुला जिल्ला दूध,र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जिल्लामा दूध र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ।

केन्द्रका प्रमुख लालबहादुर बोहराका अनुसार जिल्लामा वार्षिक एक हजार ८ सय ६६ दशमलव ३ मेट्रिक टन मासु आवश्यक पर्नेमा हाल दुई हजार १ सय ६६ मेट्रिक टन उत्पादन हुँदै आएको बताए ।
जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले दार्चुला मासुमा आत्मनिर्भर भएको छ’, प्रमुख बोहराले भने । आवश्यकताभन्दा करिब दुई सय ६० मेट्रिक टन बढी मासु उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्लामा वार्षिक १२ हजार १ सय ३१ मेट्रिक टन दुध आवश्यक पर्नेमा हाल १७ हजार ५ सय १६ मेट्रिक टन उत्पादन भइरहेको छ । जिल्लामा आवश्यकताभन्दा पाँच हजार ३ सय ८५ मेट्रिक टन बढी दुध उत्पादन भइरहेको कार्यालय प्रमुख बोहराले जानकारी दिए ।

जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कूल जनसङ्ख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकता भन्दा बढी उत्पादन हो । यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछा पालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको तथ्यांक अनुसार दार्चुलामा २४ हजार ९ सय ३० घरधुरी कृषक परिवार रहेका छन् ।
जिल्लामा ७० हजार ७ सय ५५ गाई, ३० हजार ४ सय ५२ भैँसी, २४ हजार २ सय ७६ भेडा, ९० हजार १ सय ४९ बाख्रा, ९ सय ७६ बंगुर, ४४ हजार ५ सय ९० कुखुरा, २ सय ९० हाँस र १ हजार ४२ चौँरी रहेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.