झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘ए मेरो हजुर-५’को शुभमुहूर्त गरिएको छ। निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो।
बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन्।
निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा सिनेमाको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताएकी छन्। उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको उल्लेख गरेकी छन्।
उनले भनिन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’
यस फिल्ममा अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यो उनीहरूको तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर-३’ र ‘ए मेरो हजुर-४’ एकसाथ अभिनय गरेका थिए। सिनेमामा यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन्। फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्।
अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।
‘ए मेरो हजुर’ का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए। शिव रेग्मीले निर्देशन गरेको पहिलो शृंखलापछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन्। त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका झरना थापाले नै निर्देशन गर्दै आए पनि यसपटक उनको अभिनय समेत दर्शकले हेर्न पाउने भएका छन्।
‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन्। उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन।
यो सिनेमा नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।
