देउवाका भतिजा प्रकाश सुदूरपश्चिम प्रदेशसभाबाट पदमुक्त

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । प्रदेशसभाका लगातार २५ वटा बैठकमा अनुपस्थित रहेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य देउवालाई सभामुख भीमबहादुर भण्डारीले पदमुक्त गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित तथा पूर्वमन्त्री देउवा २०८२ असोजदेखि प्रदेशसभाका बैठकमा उपस्थित भएका थिएनन् । तर, उनले प्रदेशसभाबाट पाउने पारिश्रमिकलगायतका सुविधा भने निरन्तर बुझ्दै आएका थिए ।

२०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई औपचारिक जानकारी नदिई अमेरिका पुगेको बताइएको छ । त्यसयता उनी प्रदेशसभा बैठकमा अनुपस्थित छन् र हालसम्म पनि अमेरिकामै रहेको जनाइएको छ ।

प्रदेशसभा नियमावली, २०८० को नियम १(३) अनुसार सभाको जानकारीबिना लगातार १० वटा बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ ।

देउवा लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई गराएका थिए । उक्त जानकारीपछि सभामुख भण्डारीले तत्काल उनको पद यथावत् राखेका थिए ।

देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन् । सभामुखले पदमुक्तको निर्णय गरे पनि प्रदेशसभा बैठकमा जानकारी गराउन भने बाँकी छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.