कञ्चनपुर ।
युवाहरुलाई कृषि व्यवसायमा उन्मुख गराउनका लागि कञ्चनपुरमा कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालन हुने भएको छ । संघीय सरकारले बेरोजगार युवाहरुलाई कृषिमै आत्मनिर्भर बनाउने उदेश्यका साथ कञ्चनपुरमा कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालन गर्न लागेको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालय मातहत रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाइ कञ्चनपुरले चालु आर्थिक बर्ष ०८३÷०८४मा युवाहरुलाई उक्त कार्यक्रममा सहभागि गराउने जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाइ कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि अधिकृत गोबिन्दराज जोशीले चालु आर्थिक बर्षमा जिल्लाभरीका २५ युवाहरुलाई उक्त कार्यक्रममा सहभागि गराउने बताए । उनका अनुसार १६ बर्षदेखि ४० बर्ष मुनीका कृषकहरुलाई उद्यमशिलता कार्यक्रममा सहभागि गराईनेछ । प्रस्तावको कुल लागतको ५० अर्थात बढीमा ४लाख रुपैयासम्म अनुदान पाउनेछन । कुल एक करोड बजेट विनियोजन गरिएको छ ।
‘हामीले उक्त कृषि उद्यम गर्न चाहने युवाहरुलाई सहभागिताका लागि २९ साउनमै एक महिने सूचना जारी गरिसकेका छौँ, ‘उनले भने, ‘तोकिएको ढाँचा अनुरुप निवेदन संकलन गछौँ, रितपुर्वक पुगेका किसान छनौट गछौँ ।’
उनले स्वदेशमा रोजगारी नपाएपछि विदेशिन लागेका युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उदेश्यका साथ उक्त कार्यक्रममा जोड्न लागेको बताए । गत आर्थिक बर्षमा १५ आवेदन मध्ये १२ युवा किसानले पाएका थिए । कार्यक्रम अन्र्तरगत तरकारी, दुग्धजन्यबस्तु, मासुजन्य बस्तु, अदुवा बेसार, मौलि पालन, रैनाथनी अन्नबाली, फलफुल, ग्रिन हाउस, साना मझौला खालका चेम्बर, जैविक विषादी, प्राङगारिक मल विवित पशुपालनको उत्पादन, प्रशोधनदेखि बजारीकरण लगायतका कार्यक्रम राखिएका छन ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाइ कञ्चनपुरले उक्त कार्यक्रममा सहभागि भएर स्वदेशमै युवाहरुलाई कृषिमै आत्मनिर्भर बन्न समेत आग्रह गरेको छ । उक्त कार्यक्रम प्रभावकारी रुपमा संचालन भए जिल्लाका युवाहरु समेत स्वदेशमै रोजगारी तर्फ उन्मुख हुनेछन ।
