लटिनाथ आधारभूत विद्यालयद्वारा दिवा खाजासम्बन्धी समाचारको खण्डन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५, बरमुडेस्थित लटिनाथ आधारभूत विद्यालयले दिवा खाजा कार्यक्रमबारे सामाजिक सञ्जाल तथा ‘गतिशील न्यूज’ मा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेको छ।

विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँलेहरूको दबाब वा कुरा काट्न थालेपछि मात्र दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको तथा खाजा कार्यक्रमको रकम हिनामिना भएको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।

विद्यालयका अनुसार चालु शैक्षिक सत्रको वैशाख, जेठ र असार महिनाका लागि प्राप्त रु. ५८ हजार ८२० रकम हिनामिना नभएको र उक्त रकम विद्यालयको खाता नम्बर १३००११०००००३४५ मा पूर्ण रूपमा मौज्दात रहेको छ।

विद्यालयले दिवा खाजा सञ्चालनमा केही ढिलाइ हुनुका कारणसमेत स्पष्ट पारेको छ। २०८३ वैशाख २० गतेदेखि कार्यालय सहयोगी अनिवार्य अवकाशमा गएपछि पद रिक्त भएको र विद्यालयमा शिक्षक तथा शिक्षिकाको समेत कमी रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, पालिकाले तोकेको मेनुअनुसार खाजा पकाउने जनशक्ति व्यवस्थापन गर्न स्थानीय व्यक्ति, कृषक समूह वा सहकारीसमेत उपलब्ध नभएका कारण कार्यक्रम सञ्चालनमा समस्या भएको विद्यालयको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिको २०८३ भदौ ५ गते बसेको बैठकको निर्णयअनुसार दैनिक ज्यालादारीमा अस्थायी जनशक्ति व्यवस्थापन गरिएको र हाल विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।

विद्यालयले वास्तविक तथ्य नबुझी विद्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक समाचार सम्प्रेषण नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.