भोटेकोशी–त्रिशूली बाढीमा कञ्चनपुरका २९ नागरिक अझै बेपत्ता, परिवारजनमा बढ्दो चिन्ता

कञ्चनपुर ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि कञ्चनपुरका २९ नागरिक अझै परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। बाढीपछि सम्पर्कविहीन भएका नागरिकमध्ये केही सम्पर्कमा आए पनि ठूलो संख्या अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार हालसम्म दुई जना घाइतेसहित १० जना सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये भीमदत्त नगरपालिका–६ ऐठपुरकी चन्द्रा जोशी, शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सुनिल चौधरी, भीमदत्त–१० मझगाउँकी भुवनेश्वरी भट्ट तथा बेलौरी नगरपालिका–३ का आदर्श चौधरी, नवीन चौधरीलगायत रहेका छन्। बेदकोट नगरपालिका–९ सुन्दरपुर नयाँगाउँका राजेन्द्र भट्ट र प्रदीप चन्द भने घाइते अवस्थामा फेला परेका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ ।

बाढीका कारण रसुवा क्षेत्रमा कार्यरत निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरू प्रभावित भएका छन्। कञ्चनपुरका केही नागरिक जलविद्युत आयोजना, सुरक्षा निकाय तथा सरकारी कार्यालयमा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएका हुन्।

बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–१६ बसन्तपुरका नरेशदत्त जोशी, बेदकोट नगरपालिका–८ आमथलाका प्रहरी हवल्दार नरेशप्रसाद भट्ट, कृष्णपुर नगरपालिका–५ गुलरियाका हिम्मतबहादुर पाल र रमेशराज जोशीलगायत रहेका छन्। भीमदत्त–८ तिलाचौरका श्याम चन्द पनि अझै सम्पर्कविहीन छन्। त्यस्तै शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका कालुराम चौधरी, अभिषेक चौधरी, दीपेन्द्र चौधरी, नरेश चौधरी, हरिस चौधरी र नरेन्द्र चौधरी तथा कृष्णपुर नगरपालिका–३ देखतभूलीका केशन राना, रिकेश राना र कालु राना बेपत्ता रहेको आफन्तहरूले बताएका छन ।

लालझाडी गाउँपालिका क्षेत्रका पदमसिंह साउद र विराट चौधरीदेखि भीमदत्त नगरपालिका–१० तिल्केनीका पदमबहादुर मल्ल, प्रेमप्रकाश जोशी, उमेशसिंह धामी तथा भीमदत्त–१८ का लक्ष्मण गुरुङलगायतको अवस्था पनि अझै अज्ञात रहेको जनाइएको छ । यसैगरी भीमदत्त–५ का देवबहादुर चन्द, भीमदत्त–१३ का नरेश जोशी, बेदकोट–३ का पदम जोशी, बेदकोट–५ का पदमसिंह साउद, बेदकोट–८ का पदमराज जोशी, बेलौरी–३ का रामचन्द्र चौधरीलगायत पनि सम्पर्कमा नरहेको विवरण परिवारजनबाट आएको छ ।

यता भीमदत्त–१० जिमुवाका लोकेश जोशी, भीमदत्त–२ उल्टाखामका ओमकार जोशी, मनिष चौधरी र टेकराज पैतला भने सम्पर्कमा आएका छन् ।
बेदकोट–८ आमथलाका हवल्दार नरेशप्रसाद भट्ट बिदामा घर फर्किने तयारीमा थिए। तर बाढी आएपछि उनीसँग सम्पर्क हुन सकेको छैन। परिवारका सदस्यहरू उनको अवस्थाबारे खबरको पर्खाइमा छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सम्पर्कविहीन नागरिकका परिवारसँग समन्वय गर्दै खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। प्रहरी प्रवक्ता रावतले बेपत्ता नागरिकको खोजी कार्यलाई निरन्तरता दिइएको बताएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.