कञ्चनपुर।
नेपाली कला, संगीत तथा मनोरञ्जन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका करण सिंह पाल ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ मा विशेष सम्मानित भएका छन्। सोही समारोहमा अभिनेता अंश वर्माले उत्कृष्ट अभिनेता विधाको अवार्ड प्राप्त गरेका छन्।

ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न अवार्ड समारोहमा पाललाई कलाप्रेमी, कुशल आयोजक तथा कला–संस्कृतिका शुभचिन्तकका रूपमा सम्मान गरिएको हो।
नेपाली कला तथा संगीत क्षेत्रका कलाकार र सर्जकहरूको सिर्जनशील यात्रालाई प्रोत्साहन, संरक्षण तथा प्रवर्द्धनमा पालले पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मानपत्रमा उनको योगदानले कलाकारहरूको हौसला अभिवृद्धि गर्नुका साथै नेपाली कला क्षेत्रको विकास र सांगीतिक गतिविधिलाई थप अघि बढाउन प्रेरणा मिलेको उल्लेख गरिएको छ।
यसैगरी, अभिनेता अंश वर्माले ‘सिन्दूर’ गीतमा गरेको अभिनयका लागि ‘बेस्ट एक्टर मोडर्न सङ मेल’ विधाको अवार्ड प्राप्त गरेका छन्। आयोजकका अनुसार वर्माको अभिनयलाई मूल्याङ्कन गर्दै उनलाई उक्त विधामा सम्मान गरिएको हो।

अवार्ड समारोहमा वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा ब्राण्डरुट इन्टरटेनमेन्टका अध्यक्ष सुनिल बस्नेतलगायत कला तथा संगीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
सम्मान तथा अवार्ड प्राप्त गरेका करण सिंह पाल र अंश वर्मालाई आयोजकले आगामी दिनमा नेपाली कला तथा संगीत क्षेत्रमा थप योगदान र सफलताका लागि शुभकामना व्यक्त गरेको छ।
