कञ्चनपुर ।
रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौथो रक्तदान तथा भोटेकोशीमा बाढिले गर्दा मृत्यु भएकाहरुको श्रद्धाञ्जलीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा रक्तदान गर्ने दाताहरु धेरै भएपनि संचयको अभावका कारण ३० पिन्ट रगत मात्र संकलन गरेको नेपाल रेडक्रसका शाखा प्रमुख नरेन्द्र जोशीले जानकारी दिए। देशमा बाढीपीडितलगायत विभिन्न घटनाका कारण दैनिकजसो रगतको आवश्यकता पर्ने भएकाले रक्त अभावलाई केही हदसम्म भए पनि कम गर्दै आवश्यक बिरामीलाई सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष हरिप्रसाद भट्टले बताए।
उनका अनुसार सहकारी संस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।
उक्त आयोजित कार्यक्रममा भोटेकोशीको बाढिमा ज्यान गुमाएका नरेश दत्त जोशीको दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै उनको परिवारलाई फोटो फ्ेम हस्तान्तरण गरेको थियो ।
रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मोहनबहादुर महता प्रमुख अतिथि रहेका थिए। त्यस्तै, श्रीराम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष तथा पूर्व एआईजी दीपेन्द्रबहादुर विष्ट विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको सञ्चालन सहकारीका निवर्तमान अध्यक्ष दशरथ धानुकले गरेका थिए। श्रीराम जानकी मन्दिरको सह–आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, मन्त्र हस्पिटल, जाइका इ. तन्दुरी र विन्दास कलेक्सनले सहयोग गरेका थिए। कार्यक्रममा सहयोग गर्ने सबैलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
