दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–२ मा स्वर्गीय दलिराम लुहारको वार्षिक पुण्यतिथिका अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
ईश्वर लुहारका पूजनीय पिता स्वर्गीय दलिराम लुहारको स्मृतिमा वैदिक विधिअनुसार धार्मिक अनुष्ठान तथा स्थानीय मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
आचार्य गणेशप्रसाद पन्तको आचार्यत्वमा सम्पन्न कार्यक्रममा श्राद्ध, पूजा, चण्डीपाठ, श्रीसत्यनारायण कथा, हवन तथा पूर्णाहुतिलगायतका धार्मिक अनुष्ठान गरिएको थियो। कार्यक्रममा पितृप्रति श्रद्धा, कृतज्ञता तथा स्मरण अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति, सद्गति एवं पितृकृपाको कामना गरिएको थियो।
स्थानीय धार्मिक परम्पराअनुसार धामीद्वारा टीका लगाउने, दुबोको माला तथा शिरमा पगरी लगाइदिने संस्कारसमेत सम्पन्न गरिएको थियो।
धार्मिक अनुष्ठानसँगै स्थानीय मौलिक कला र संस्कृति झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। रातभरि डेउडा, धुमारी, ढुस्को, चाँचरी, लोकगीत तथा लोकनृत्यलगायतका कार्यक्रम सञ्चालन भएका थिए।
परिवारजन, आफन्त तथा स्थानीय समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा स्वर्गीय दलिराम लुहारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र स्मरण गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्ति एवं सद्गतिको कामना गरेका थिए।
आयोजक पक्षका अनुसार धार्मिक संस्कारको निरन्तरतासँगै स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत कार्यक्रमले योगदान पुर्याएको छ।
