शनिबार र आइतबार पश्चिम नेपालमा धेरै वर्षाको सम्भावना, पूर्वमा प्रभाव कम हुँदै जाने

देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै झरी सुरु भएको हो ।

शनिबार र आइतबार भने यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा धेरै पर्ने र कोशी, बागमती र मधेश प्रदेशमा भने कम हुँदै जाने मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली यतिबेला भारतको छत्तिसगढ आसपासको क्षेत्रमा रहेको र यो अझै माथितिर बढिरहेकाले यसको प्रभाव अब पश्चिम नेपालमा धेरै पर्ने उनले बताए ।

शिलापत्रसँग उनले भने, ‘अहिले यसको प्रभाव लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा अलि बढी देखिन्छ । भोलिदेखि बागमती प्रदेशका केही भागहरूमा पनि मौसम क्रमिक रूपमा सुधार हुने छ, तर आगामी दिनमा कर्णाली र सुदूरपश्चिमको क्षेत्रमा लगातारको वर्षाको सम्भावना छ ।’

उनका अनुसार मधेश, कोशी र बागमतीका केही क्षेत्रमा शुक्रबार रातिदेखि नै यसको प्रभाव कम हुँदै जाने छ । तर, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पहाडी, हिमाली क्षेत्रमा भने यसको प्रभाव अझै बढ्दै जाने मौसमविद् लामिछानेले बताए ।

सोमबारदेखि भने वर्षा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको झरीले काठमाडौं उपत्यकासहित देशभरका नदी र खोलाहरूमा बाढी आएको छ । विभिन्न नदी तथा खोलामा जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै, काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

खराब मौसमका कारण उडानसमेत प्रभावित भएको छ । पोखरा, भरतपुरलगायतका विमानस्थल बन्द नै छन् भने अन्य विमानस्थलहरूमा पनि उडान ढिलो वा तालिका परिवर्तन गरिएको छ ।

बाढीको जोखिम बढेपछि देशभरका धेरै विद्यालयले सार्वजनिक बिदा दिएका छन् । नदी–खोला किनारका बस्तीमा निरन्तर निगरानी तथा सुरक्षा सतर्कता अपनाउन माइकिङ गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.