गाउँको उत्पादन बजारसम्म पुर्‍याउनै सकस

चाडपर्व नजिकिँदै गए पनि बर्सातका कारण अवरुद्ध भएका ग्रामीण सडक समयमै मर्मत हुन नसक्दा बैतडीका ग्रामीण भेगका किसानले उत्पादन बजारसम्म पुर्‍याउन समस्या झेल्नु परेको छ । सडक अवरुद्ध हुँदा तरकारी तथा अन्य कृषि उपज बारीबाट बजारसम्म पुर्‍याउन नसकिएको किसानले बताएका छन् ।

बारीमा उत्पादन भएका बन्दा, काउली, काँक्रो, फर्सी, पिँडालुलगायतका कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको पुर्चौडी नगरपालिका–२ का किसान प्रेमबहादुर बमले जानकारी दिनुभयो  । सडकको अवस्था सुधार नहुँदा उत्पादन ढुवानी गर्न कठिन भएको उहाँले बताउनुभयो ।

सुर्नया गाउँपालिका–५ का किसान दलबहादुर विष्टले सडककै समस्याका कारण बारीमा उत्पादन भएको बन्दा बजार पठाउन नसकिएको बताउनुभयो । “बजारमा माग बढ्ने समयमा उत्पादन बिक्री गर्न नसक्दा बारीमै तरकारी सड्न थालेको छ,” उहाँले भन्नुभयो ।

चाडपर्वका बेला पहाडबाट तराई र तराईबाट पहाडतर्फ आवतजावत गर्ने यात्रुको सङ्ख्या बढ्ने भए पनि ग्रामीण क्षेत्रका कच्ची सडक समयमै मर्मत नहुँदा यात्रुले समेत सास्ती खेप्नु परेको छ । सिगास गाउँपालिका–३ का स्थानीय चन्द्र धामीले बर्सातका कारण बिग्रिएका सडक समयमै मर्मत नहुँदा आवतजावतमा समस्या भएको बताउनुभयो ।

यातायात व्यवसायी राम विष्टले सामान्य समयको तुलनामा चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले ग्रामीण सडकको अवस्था सुधार गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । सडकको अवस्था कमजोर हुँदा यातायात सञ्चालनमा समेत समस्या हुने उहाँले बताउनुभयो ।

यसैबिच चाडपर्वका समयमा जिल्लामा सहज आपूर्ति, यातायात तथा आवतजावत, सडक मर्मतसम्भार, सरसफाइ तथा सुरक्षा व्यवस्थालगायतका विषयमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको संयोजकत्वमा सरकारी, निजी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बसेको बैठकले बर्सातका कारण अवरुद्ध भएका जिल्लाका सडक सञ्चालन तथा आवश्यक मर्मतसम्भार गर्ने विषयमा निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको मागसँगै ग्रामीण क्षेत्रबाट कृषि उपजको आपूर्ति पनि बढ्ने भएकाले सडक सञ्चालन प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ ।

पछिल्लो समय बैतडीका किसान परम्परागत धान तथा मकै खेतीसँगै तरकारी खेतीतर्फ समेत आकर्षित हुँदै आएका छन् । जिल्लाका विभिन्न क्षेत्र तरकारी तथा अन्य कृषि उपज उत्पादनका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन् ।

पाटन नगरपालिका आलु उत्पादनका लागि, दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया, शिवनाथ गाउँपालिका तरकारी उत्पादनका लागि तथा डिलासैनी गाउँपालिका तरकारीसँगै उखु उत्पादनका लागि परिचित रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख सुशील न्यौपानेले बताउनुभयो । कृषि उपजको उत्पादन बढ्दै गए पनि सडक तथा बजारको पहुँच सहज नहुँदा किसानले उत्पादनको उचित लाभ लिन समस्या हुने गरेको उहाँले बताउनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.