नेपालको इतिहास सम्झिँदा मेरो मनमा कहिलेकाहीँ एउटा अनौठो पीडा जाग्छ । यो देशले परिवर्तनका लागि कति ठूलो मूल्य चुकायो होला भनेर सोच्दा मन भारी हुन्छ । कतै दरबारभित्र रगत बग्यो, कतै सडकमा जनता ढले, कतै बन्दुक चल्यो, कतै गाउँ उजाडिए, कतै सरकारी भवन जले, कतै ऐतिहासिक कागजात खरानी भए र कतै प्राकृतिक विपत्तिले एकैपटक हजारौँ परिवारको संसार उजाडिदियो। पुस्तौँदेखि नेपालीले एउटा राम्रो देशको सपना देख्दै आए। कसैले प्रजातन्त्रका लागि लड्यो, कसैले गणतन्त्रका लागि लड्यो, कसैले अधिकार र पहिचानका लागि आवाज उठायो, कसैले भ्रष्टाचार र बेथितिविरुद्ध सडक रोज्यो। तर आज यति लामो यात्रा पार गरेर यहाँ आइपुग्दा मेरो मनमा एउटा प्रश्न उठ्छ हामीले यति धेरै संघर्ष गरेर आखिर कति बदलियौँ र हाम्रो देश कति बदलियो?
नेपालको राजनीतिक इतिहासलाई धेरै पछाडिबाट हेर्दा वि.सं. १९०३ को कोत पर्व एउटा भयावह अध्यायका रूपमा आउँछ । दरबारभित्रको सत्ता संघर्षले कोतमा रक्तपातको रूप लियो र धेरै भारदार मारिए । त्यसपछि जंगबहादुर कुँवरको शक्ति तीव्र रूपमा बढ्दै गयो र राज्यसत्ता क्रमशः उनको हातमा केन्द्रित भयो । कोत पर्वपछि भण्डारखाल पर्व भयो र फेरि रक्तपात भयो। यी घटनाले नेपालमा सत्ता प्राप्तिको संघर्ष कति कठोर हुन सक्छ भन्ने देखाए। त्यसपछि राणा शासन लामो समयसम्म चल्यो। राज्य थियो, दरबार थियो, शासन थियो, तर आम नेपालीको राजनीतिक आवाज कमजोर थियो । जनताको जीवनमा अधिकारको उज्यालोभन्दा शासनको छायाँ ठूलो थियो ।
तर जनताको मनमा स्वतन्त्रताको चाहना कहिल्यै मरेन । राणा शासनविरुद्ध आवाज उठाउनेहरू जेल गए, यातना भोगे र कतिले जीवनसमेत दिए । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो जीवन दिएर नेपाली इतिहासमा बलिदानको अध्याय लेखे । अन्ततः २००७ सालको क्रान्तिले राणा शासनको अन्त्य गर्यो र नेपाल प्रजातान्त्रिक यात्रातर्फ अघि बढ्यो । त्यो समय नेपाली जनताका लागि ठूलो आशाको समय थियो। अब आफ्नै देशमा आफ्नै आवाज सुनिनेछ, अब शासन जनताको हितमा चल्नेछ, अब विकासको ढोका खुल्नेछ भन्ने विश्वास जागेको थियो ।
तर नेपालको राजनीतिक यात्रा त्यहाँ रोकिएन । २०१७ साल पुस १ गते जननिर्वाचित सरकार र संसद् विघटन गरियो र पञ्चायती व्यवस्था सुरु भयो । संसद्को आधिकारिक इतिहासले पनि २०१७ सालपछि संसदीय व्यवस्था समाप्त भएको र पञ्चायती शासन सुरु भएको उल्लेख गर्छ । फेरि राजनीतिक अधिकार सीमित भए । दलहरू प्रतिबन्धित भए । धेरै मानिस भूमिगत भए, जेल गए, निर्वासनमा पुगे । वर्षौँसम्म देशभित्र परिवर्तनको आवाज दबिए पनि जनताको मनभित्रको चाहना दबिएन ।
अन्ततः २०४६ सालमा जनआन्दोलन भयो । जनता फेरि सडकमा आए । बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो र २०४७ सालमा नयाँ संविधान आयो । फेरि देशले नयाँ सपना देख्यो । मानिसहरूले सोचे, अब त देशले स्थिर बाटो समात्नेछ, अब विकास हुनेछ, अब युवाले आफ्नै देशमा काम पाउनेछन् र अब आम नागरिकको जीवन फेरिनेछ ।
तर त्यो सपना पनि धेरै लामो समय शान्त रहन सकेन । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले देशलाई अर्को दशकसम्म हिंसाको चपेटामा पार्यो । गाउँका बाटा सुनसान भए, विद्यालय र विकासका संरचना प्रभावित भए, हजारौँ परिवार विस्थापित भए, मानिसहरू मारिए र बेपत्ता भए । एउटा पुस्ताले बाल्यकाल नै बन्दुकको आवाज सुन्दै बितायो । देशको ठूलो शक्ति विकासमा खर्च हुनुपर्ने समयमा द्वन्द्व र सुरक्षाको चपेटामा पर्यो । दस वर्षपछि २०६३ सालमा विस्तृत शान्ति सम्झौताले सशस्त्र द्वन्द्व अन्त्य गर्ने राजनीतिक आधार तयार गर्यो ।
त्यसैबीच २०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका धेरै सदस्यको हत्या भयो । देश शोकमा डुब्यो। त्यसपछि ज्ञानेन्द्र शाह राजा बने । द्वन्द्वले थलिएको देशमा यो घटनाले अझ ठूलो राजनीतिक र मानसिक संकट थप्यो । २०६१ साल माघ १९ गते राजाले प्रत्यक्ष शासन लिएपछि राजनीतिक वातावरण झन् तनावपूर्ण बन्यो ।
फेरि जनता सडकमा आए । २०६२/६३ सालमा १९ दिने जनआन्दोलन भयो। आन्दोलनपछि २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापित भयो र देश नयाँ राजनीतिक प्रक्रियातर्फ अघि बढ्यो । त्यसपछि शान्ति प्रक्रिया अघि बढ्यो, संविधानसभा निर्वाचन भयो र नेपाली जनताले नयाँ संविधानमार्फत नयाँ नेपालको सपना देखे ।
पहिलो संविधानसभाले संविधान बनाउन सकेन र विघटन भयो। फेरि चुनाव भयो । दोस्रो संविधानसभा बन्यो। वर्षौँको बहस, विवाद र राजनीतिक संघर्षपछि २०७२ साल असोज ३ गते संविधान जारी भयो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संरचनामा प्रवेश गर्यो । राजतन्त्रको अन्त्य भइसकेको थियो, गणतन्त्र स्थापित भइसकेको थियो, संघीयता आएको थियो र नागरिकका धेरै अधिकार संविधानमा लेखिएका थिए । अब प्रश्न थियो व्यवस्था बदलियो, अब अवस्था कहिले बदलिन्छ ?
त्यही २०७२ सालमा अर्को ठूलो विपत्ति आयो । वैशाख १२ गतेको भूकम्पले हजारौँ मानिसको ज्यान लियो, लाखौँ घर तथा संरचनामा क्षति पुर्यायो र देशलाई पुनर्निर्माणको ठूलो बोझ दियो । गाउँका घर भत्किए, परिवारहरू खुला आकाशमुनि पुगे, ऐतिहासिक सम्पदा ढले र राज्यले विकासका धेरै स्रोत पुनर्निर्माणमा लगाउनुपर्यो ।
सिंहदरबारको इतिहासलाई हेर्दा नेपालको उतारचढाव अझ स्पष्ट देखिन्छ । वि.सं. २०३० सालमा सिंहदरबारमा ठूलो आगलागी भयो । राज्यका महत्वपूर्ण कागजात र संरचनामा क्षति पुग्यो । त्यसपछि २०७२ सालको भूकम्पले पनि सिंहदरबारमा क्षति पुर्यायो । अनि २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा फेरि सिंहदरबारसहित देशका विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भयो । संसद्का सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त वक्तव्यमा संघीय संसद् भवन, सिंहदरबारस्थित संसद् सचिवालय, सरकारी तथा निजी आवास, सञ्चारगृह, व्यापारिक प्रतिष्ठान र ऐतिहासिक दस्तावेजमा समेत आगजनी तथा तोडफोडबाट क्षति पुगेको उल्लेख गरिएको छ ।
२०८२ सालको Gen-Z आन्दोलनको पछाडि युवाको असन्तुष्टि, सुशासन, भ्रष्टाचार, सामाजिक सञ्जालसम्बन्धी सरकारी निर्णय र राज्यप्रतिको गहिरिँदो अविश्वासजस्ता विषय थिए । आन्दोलनले देशभर ठूलो राजनीतिक हलचल ल्यायो । तर त्यससँगै भएको हिंसा, आगजनी र तोडफोडले देशलाई अर्को ठूलो भौतिक र मानवीय क्षति पनि दियो। राष्ट्रिय योजना आयोगको क्षति मूल्याङ्कनअनुसार त्यस घटनामा ७७ जनाको मृत्यु भयो, २ हजार ४ सय २९ जना घाइते भए, २ हजार ६ सय ७१ भवनमा क्षति पुग्यो र कुल भौतिक क्षति रु. ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आँकलन गरिएको छ। पुनर्निर्माणका लागि मात्रै करिब रु. ३६ अर्ब ३० करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।
अब एकपटक चुपचाप बसेर सोचौँ । २००७ सालमा हामीले क्रान्ति गर्यौँ । २०४६ सालमा आन्दोलन गर्यौँ । २०५२ सालदेखि दस वर्ष युद्ध भयो । २०६२/६३ मा फेरि जनआन्दोलन भयो। गणतन्त्र आयो । संविधान आयो। संघीयता आयो । त्यसपछि पनि सरकारहरू बदलिँदै गए, सत्ता समीकरणहरू बदलिँदै गए, आन्दोलनहरू भइरहे र असन्तुष्टिहरू सडकमा आइरहे । अन्ततः २०८२ सालमा नयाँ पुस्ता फेरि सडकमा आयो ।
त्यसपछि मनले सोध्छ अब फेरि आन्दोलन गरेर मात्र हुन्छ त ? कति पटक सडकमा जाने ? कति पटक ढुंगा बोक्ने ? कति पटक सरकारी भवन जलाउने ? कति पटक सार्वजनिक सम्पत्ति तोड्ने ? कति पटक नयाँ व्यवस्था खोज्ने ? कति पटक पुराना अनुहार हटाएर नयाँ अनुहार ल्याउने ? यदि जनता उस्तै रहे भने, सोच उस्तै रहे भने, संस्कार उस्तै रहे भने, भ्रष्टाचारलाई घृणा गर्नेभन्दा आफ्नै सानो स्वार्थका लागि नियम मिच्ने प्रवृत्ति उस्तै रहे भने, सार्वजनिक सम्पत्तिलाई आफ्नो सम्पत्तिजस्तो माया नगर्ने बानी उस्तै रहे भने आन्दोलनले देश कसरी बदलिन्छ ?
यहीँ आएर मलाई लाग्छ अब नेपाललाई अर्को आन्दोलन चाहिएको छैन आफ्नै नागरिकको चेतनामा परिवर्तन चाहिएको छ ।
हामीले नेताहरूलाई गाली गर्न सजिलो बनायौँ, तर कहिलेकाहीँ आफ्नै व्यवहार हेर्न बिर्सियौँ । हामी भ्रष्टाचारको विरोध गर्छौँ, तर आफ्नो काम छिटो गराउन घुस दिन तयार हुन्छौँ । हामी देश बिग्रियो भन्छौँ, तर सार्वजनिक ठाउँमा फोहोर फाल्छौँ । हामी सुशासन माग्छौँ, तर आफ्नो पालो मिच्न खोज्छौँ । हामी नेताले नियम मान्नुपर्छ भन्छौँ, तर आफ्नो स्वार्थमा नियम तोड्नुलाई सामान्य ठान्छौँ । हामी देशमा रोजगारी चाहन्छौँ, तर आफ्नै उत्पादनलाई सम्मान गर्न सिकेका छैनौँ । हामी सामाजिक सञ्जालमा देशप्रेम लेख्छौँ, तर वास्तविक जीवनमा आफ्नो जिम्मेवारीबाट भाग्छौँ ।
देश सिंहदरबारमा बस्ने मानिसले मात्र बनाउदैन । देश गाउँको किसानले बनाउँछ, विद्यालयको शिक्षकले बनाउँछ, अस्पतालको स्वास्थ्यकर्मीले बनाउँछ, सडकमा इमानदारीपूर्वक काम गर्ने मजदुरले बनाउँछ, पसलमा सही तौल दिने व्यापारीले बनाउँछ, कार्यालयमा घुस नलिने कर्मचारीले बनाउँछ, समाचारमा सत्य लेख्ने पत्रकारले बनाउँछ र आफ्नो काम इमानदारीपूर्वक गर्ने प्रत्येक नागरिकले बनाउँछ ।
त्यसैले अबको क्रान्ति अरूलाई हटाउनेभन्दा पहिले आफूलाई बदल्ने क्रान्ति हुनुपर्छ । अब आन्दोलनको अर्थ सरकारी भवन जलाउनु हुदैन , गलत कामको प्रमाण खोजेर कानुनी बाटोबाट प्रश्न गर्नु हुनुपर्छ। अब आन्दोलनको अर्थ सडक बन्द गर्नु मात्र होर , आफ्नै गाउँमा विद्यालय राम्रो बनाउन दबाब दिनु हुनुपर्छ । अब आन्दोलनको अर्थ सरकारी गाडी तोड्नु होइन, सरकारी गाडीको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनअनुसार जवाफदेही बनाउन माग गर्नु हुनुपर्छ । अब आन्दोलनको अर्थ संसद् जलाउनु हुदैन, संसद्लाई जनताको आवाज सुन्न बाध्य बनाउने नागरिक चेतना विकास गर्नु हुनुपर्छ ।अब आन्दोलनको अर्थ देश छोडेर विदेश जानु मात्र होइन, देशमै उत्पादन, सीप, उद्योग र रोजगारीको वातावरण बनाउन निरन्तर दबाब दिनु हुनुपर्छ ।
हामीले इतिहासमा धेरैपटक व्यवस्था परिवर्तन गर्यौँ । अब मानसिकता परिवर्तन गर्नुपर्छ । हामीले धेरैपटक सरकार परिवर्तन गर्यौँ । अब शासन गर्ने संस्कार परिवर्तन गर्नुपर्छ । हामीले धेरैपटक नेताको अनुहार परिवर्तन गर्यौँ । अब नागरिकको चेतना र राजनीतिक संस्कार परिवर्तन गर्नुपर्छ ।
देशमा खराब नेता मात्र भएर देश बिग्रिँदैन । खराब संस्कारलाई समाजले स्वीकार गर्दै गएपछि पनि देश बिग्रिन्छ । एउटा नेता भ्रष्ट हुनु दुःखद कुरा हो, तर भ्रष्टाचारलाई आफ्नो काम निकाल्ने सजिलो बाटो मान्ने समाज अझ ठूलो समस्या हो । एउटा कर्मचारीले घुस माग्नु अपराध हो, तर काम छिटो गराउन घुस दिन तयार हुने प्रवृत्तिले पनि त्यस अपराधलाई टिकाइरहेको हुन्छ ।
त्यसैले अब देश बदल्ने जिम्मेवारी सिंहदरबारको मात्र नभएर प्रत्येक घरको हो । प्रत्येक विद्यालयको हो । प्रत्येक कार्यालयको हो । प्रत्येक गाउँको हो । प्रत्येक युवाको हो ।
हामीले आफ्ना छोराछोरीलाई सरकारी जागिर खोज्न सिकाउने होइन, सीप सिकाउनुपर्छ । विदेश जाने सपना देखाउने होइन, आफ्नो देशमा पनि सम्भावना खोज्न सिकाउनुपर्छ । अधिकार माग्न सिकाउने मात्र होइन, कर्तव्य पनि बुझाउनुपर्छ । नेताको भाषण सुन्ने होइन, उनीहरूले गरेका कामको हिसाब माग्न सिक्नुपर्छ । सामाजिक सञ्जालमा आक्रोश पोख्ने होइन, आफ्नो समुदायमा एउटा राम्रो काम सुरु गर्नुपर्छ।
इतिहासले हामीलाई धेरै पाठ दिएको छ । कोत पर्वले सत्ता संघर्षको भय देखायो । भण्डारखालले शक्ति संघर्षको रक्तपात देखायो। राणा शासनले अधिकारविहीनताको पीडा देखायो । २००७ सालले परिवर्तनको शक्ति देखायो । २०१७ सालले लोकतान्त्रिक प्रक्रियामा आएको अवरोध देखायो । २०४६ सालले जनताको सामूहिक शक्तिको उदाहरण दियो । २०५२ देखि सुरु भएको द्वन्द्वले हिंसाको मूल्य देखायो । २०५८ सालले दरबारको त्रासदी देखायो । २०६२/६३ ले फेरि जनताको शक्ति देखायो । गणतन्त्र र संविधानले नयाँ राजनीतिक संरचना दिए । २०७२ को भूकम्पले प्रकृतिको शक्ति देखायो । २०८२ को आन्दोलनले नयाँ पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहना देखायो ।
अब इतिहासले हामीलाई अर्को पाठ सिकाउन खोजिरहेको छ परिवर्तन व्यवस्था बदल्नुको नाम होइन। परिवर्तन भनेको मानिसको जीवन बदलिनु हो ।
यदि किसानको जीवन बदलिएन भने परिवर्तन अधुरो छ । यदि युवाले काम पाएन भने परिवर्तन अधुरो छ । यदि विद्यार्थीले गुणस्तरीय शिक्षा पाएन भने परिवर्तन अधुरो छ । यदि बिरामीले सहज उपचार पाएन भने परिवर्तन अधुरो छ । यदि नागरिकले न्याय पाउन वर्षौँ कुर्नुपर्यो भने परिवर्तन अधुरो छ । यदि सार्वजनिक पैसा सुरक्षित रहेन भने परिवर्तन अधुरो छ । यदि भ्रष्टाचारविरुद्ध कानुन सबैका लागि समान रूपमा लागू भएन भने परिवर्तन अधुरो छ ।
हामीले अब अर्को पुस्तालाई आन्दोलनको कथा सुनाएर हुर्काउनु हुँदैन। उनीहरूलाई निर्माणको कथा सुनाउनुपर्छ । हामीले उनीहरूलाई शहीदका फोटो देखाएर गर्व गर्न सिकाउने होइन, ती शहीदहरूले चाहेको समाज कस्तो थियो भनेर बुझाउनुपर्छ । उनीहरूले दिएको जीवनको मूल्य एउटा राम्रो, न्यायपूर्ण र सम्मानजनक देशमा देखिनुपर्छ।
मलाई लाग्छ, अबको सबैभन्दा ठूलो आन्दोलन नागरिकको चेतनामा हुनुपर्छ । त्यो आन्दोलन शान्त हुन सक्छ, तर कमजोर हुनु हुँदैन । त्यो आन्दोलन सडकमा नदेखिए पनि समाजमा देखिनुपर्छ । त्यो आन्दोलनले भ्रष्टाचार गर्नेलाई प्रश्न गरोस्, तर आफैँ भ्रष्ट नहोस् । त्यो आन्दोलनले नेतासँग हिसाब मागोस्, तर आफैँ जिम्मेवारीबाट नभागोस् । त्यो आन्दोलनले देश बदल्ने कुरा गरोस्, तर देशको सम्पत्ति नजलाओस् ।
अब हामीले एउटा नयाँ संस्कार सुरु गर्नुपर्छ गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने र आफ्नो मान्छेले गलत गरे पनि गलत भन्न सक्ने संस्कार ।
देश त्यतिबेला मात्र बदलिन्छ, जब नागरिकले आफ्नो पक्षभन्दा सत्यको पक्ष लिन सिक्छ ।
आजसम्म हामीले धेरै कुरा नेताबाट अपेक्षा गर्यौँ । अब केही अपेक्षा आफूबाट पनि गरौँ । देशले मलाई के दियो भनेर मात्र सोध्ने होइन, मैले देशलाई के दिएँ भनेर पनि सोधौँ । सरकार कहाँ असफल भयो भनेर मात्र प्रश्न गर्ने होइन, म नागरिकका रूपमा कहाँ असफल भएँ भनेर पनि सोचौँ ।
किनकि देश कुनै एउटा प्रधानमन्त्रीले मात्र बनाउने होइन । देश कुनै एउटा पार्टीले मात्र बनाउने होइनव। देश कुनै एउटा आन्दोलनले मात्र बनाउने होइन। देश करोडौँ नागरिकको दैनिक व्यवहारले बन्छ ।
हामीले बाटोमा फोहोर नफाल्ने बानी बसाल्यौँ भने त्यो पनि देश निर्माण हो । कर तिर्नुपर्ने ठाउँमा इमानदारीपूर्वक कर तिर्यौँ भने त्यो पनि देश निर्माण हो । सरकारी सम्पत्ति आफ्नो सम्पत्तिजस्तै जोगायौँ भने त्यो पनि देश निर्माण हो । काममा घुस नदियौँ र नलियौँ भने त्यो पनि देश निर्माण हो । किसानको उत्पादन उचित मूल्यमा किन्यौँ भने त्यो पनि देश निर्माण हो । आफ्नै देशको उत्पादन प्रयोग गर्यौँ भने त्यो पनि देश निर्माण हो । विद्यार्थीले इमानदारीपूर्वक पढ्यो भने त्यो पनि देश निर्माण हो । पत्रकारले सत्य लेख्यो भने त्यो पनि देश निर्माण हो । कर्मचारीले जिम्मेवारी पूरा गर्यो भने त्यो पनि देश निर्माण हो ।
त्यसैले अब प्रश्न अर्को आन्दोलन कहिले ? होइन कि
अर्को परिवर्तन मबाट कहिले हो ? अब सरकार कहिले बदलिन्छ ? होइन कि मेरो सोच कहिले बदलिन्छ हो । नेता कहिले सुध्रिन्छन् ? मात्र होइन कि नागरिकका रूपमा हामी कहिले सचेत हुन्छौँ हो ?
हामीले देश बदल्न धेरैपटक सडक रोज्यौँ । अब एकपटक आफ्नो घर, आफ्नो गाउँ, आफ्नो विद्यालय, आफ्नो कार्यालय र आफ्नो व्यवहारबाट देश बदल्ने बाटो रोजौँ ।किनकि आन्दोलनले सत्ता परिवर्तन गर्न सक्छ, तर सुसंस्कारले राष्ट्र परिवर्तन गर्छ । आन्दोलनले सरकार ढाल्न सक्छ, तर इमानदारीले देश उठाउँछ । आन्दोलनले व्यवस्था बदल्न सक्छ, तर चेतनाले अवस्था बदल्छ । र अब नेपाललाई अर्को आन्दोलन चाहिएको छैन। आफ्नै नागरिकभित्रको एउटा शान्त तर गहिरो क्रान्ति चाहिएको छ । त्यो क्रान्तिले कसैको घर जलाउने छैन । कसैको जीवन लिने छैन । कुनै इतिहास खरानी बनाउने छैन । बरु एउटा विद्यार्थीको आँखामा सपना जगाउनेछ, एउटा किसानको खेतमा आशा रोप्नेछ, एउटा युवाको हातमा रोजगारी दिनेछ, एउटा आमाबुबालाई आफ्नै छोराछोरी विदेश पठाउँदा आँसु नझार्नुपर्ने दिन ल्याउनेछ र एउटा नागरिकलाई आफ्नो देशप्रति फेरि विश्वास गर्न सक्ने बनाउनेछ । हामीले धेरै रगत देखिसक्यौँ । अब धेरै पसिना देखौँ । हामीले धेरै आन्दोलन गरिसक्यौँ । अब धेरै निर्माण गरौँ । हामीले धेरै सरकार फेरिसक्यौँ । अब शासनको संस्कार फेरौँ । हामीले धेरैपटक देश बदल्ने कुरा गरिसक्यौँ । अब आफू बदलौँ, आफ्नो समाज बदलौँ र त्यसैबाट देश बदलौँ । सायद यही नै अबको वास्तविक जनक्रान्ति हो ।अरूलाई बदल्न खोजेर हुदैन, आफूबाट परिवर्तन सुरु गरेर । सत्ता कब्जा गरेर हुदैन , जिम्मेवारी स्वीकार गरेर हुन्छ । आक्रोशलाई विनाशमा नभएर, चेतना र निर्माणमा बदलाएर । किनकि यो देश अझै बाँकी छ । हिमाल बाँकी छन्, पहाड बाँकी छन्, तराई बाँकी छ, नदीहरू बगिरहेका छन्, माटोमा उर्वरता बाँकी छ र नेपाली युवाको आँखामा सपना अझै मरेको छैन। अब त्यो सपनालाई फेरि आन्दोलनको धुवाँमा हराउने कि निर्माणको उज्यालोमा बदल्ने निर्णय हाम्रो हातमा छ । हामीले इतिहास धेरैपटक बदल्यौँ । अब इतिहासले हामीलाई बदल्ने बेला आएको छ ।
लेखक :-नरेश प्रसाद जोशी सञ्चारकर्मी
प्रेस सेन्टर नेपाल दार्चुला शाखा कोषाध्यक्ष
