दार्चुला । दार्चुलाको प्रसिद्ध धार्मिकस्थल शैल्यशिखर धाममा लाग्ने पूजन जात्राका क्रममा ढोलीबस्ताभन्दा माथि कुनै पनि किसिमका फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ ।
आगामी मंसिर ६ गते लाग्ने शैल्यशिखर पूजन जात्रालाई व्यवस्थित तथा मर्यादित बनाउन यस्तो निर्णय गरिएको हो । आइतबार बसेको सरोकारवाला निकायहरूको बैठकले ढोलीबस्ताभन्दा माथि गएर फोटो तथा भिडियो खिच्ने लगायतका गतिविधि गर्न नपाउने निर्णय गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित प्रसिद्ध शिखर धुराको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै मोबाइल फोनलगायत फोटो तथा भिडियो खिच्न प्रयोग हुने विभिन्न सामग्रीमाथि प्रतिबन्ध लगाइएको समितिले जनाएको छ ।
शिखर धुरामा पुगेर त्यहाँको धार्मिक प्रतीक (गात) को तस्बिर खिची गलत प्रचारप्रसार गर्ने प्रयास भइरहेको भन्दै समितिले यस्तो प्रतिबन्ध लगाएको हो ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रामा सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गर्छन् ।
त्यस्तै, भारतको उत्तराखण्डस्थित धार्चुला, डिडिहाट, मुन्स्यारी, पिपली, अस्कोट, चम्पावत र पिथौरागढ क्षेत्रबाट समेत भक्तजनहरू शिखर धुराको दर्शन तथा पूजनका लागि आउने गरेका छन् ।