दार्चुला । बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा मृत फेला परेका छन्।
दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति ब्यारेकभित्रै मृत अवस्थामा फेला परेका हुन्।
ड्युटी सकेर अदालत परिसरमा रहेको ब्यारेक पुगेका पार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। कोठाको ढोका बन्द रहेको अवस्थामा उनी मृत भेटिएका थिए।
स्रोतका अनुसार आफन्त घरबाट आएपछि बुधबार बिहान शव परीक्षण गरिएको थियो। त्यसपछि शव परिवारको जिम्मा लगाइएको छ।
घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।