हाम्रो समाजमा नारी जीवनको यथार्थ चित्रण

भावना भट्ट जोशी – म यस्तो समाजको छोरी हुँ !

जहाँ यस्तो छोरीलाई भाग्यमानी भन्छन् ! जसको पैत्रृक धन सम्पत्ति टन्न छ , जसको छोरा वा ज्वाइँ सरकारी जागिरे छ, जो राम्रो पैसा कमाउँछ वा आर्थिक रुपले सम्पन्न छ , जो छोरी वा बुहारीलाई कोठामा बसि बसि खुवाउँछ , जुन छोरी वा बुहारी पुर्ण रुपमा परजीवी छ , आफ्नो काम कर्तव्य र अधिकार बाट टाढा छ अन्जान छ , खासमा भन्ने हो भने उसको व्यक्तित्व विकास त्यै कोठामा सिमित छ , उ अर्काको अधिनमा छ त्यै चुलो चौको त्यै भान्छा त्यै कोठाबभित्रको चार दिवार भित्र बन्द छ , एउटा पशुसरहको जीवन छ, बन्धन छ , त्यो छोरी वा बुहारी सार्है भाग्यमानि रे !

म यस्तो समाजको छोरी हुँ !

जहाँ यस्तो छोरी वा बुहारी अभागि हो , जुन छोरी वा बुहारी आफ्नो रगत र पशिनाको खेति गरेर , रातदिन सङ्घर्षको मैदानमा खेति गरिरहेकि हुन्छिन् , आफ्नो व्यक्तिगत विकासमा रातदिन मेहेनेत गरिरहेकि हुन्छिन् , यो समाजमा छोरी पनि छोरा जस्तै हुन र छोराको जस्तै काम गर्न सक्छिन भन्ने प्रमाणित गर्न , रातदिन खटिरहेकि हुन्छिन् , मेरो समाज र मेरो देशका छोरी वुहारिहरुको जीवन परिवर्तन गर्न म आफुबाट सुरुवात गर्छु भनि हिनिरहेकि हुन्छे ! त्यो छोरी वा बुहारी सार्है अभागि रे त्यो त चरित्रहिन रे जुन छोरी पुर्ण रुपमा आत्मनिर्भर छ , हिमतवान छ निडर छ साहसि छ ,म आफु र मेरो परिवार छोराले जस्तै पाल्न सक्छु , चलाउन सक्छ त्यो छोरी अभागि रे चरित्रहिन रे !

म यस्तो समाजको छोरी हुँ !

जहाँ घरमा छोरी बुहारीलाई वा महिलालाई रातदिन हेपि रहेका हुन्छन् । घरमा पत्नीमाथि खुब अत्याचार गरिरहेका , घरेलु हिंसा  गरिरहेका हुन्छन् महिलालाई खुट्टको धुलो सम्झिरहेका हुन्छन् ! तिनिहरु नै सरकारमा गएर छोरा छोरी समान हुन छोरा र छोरीमा भेदभाव गर्नुहुन्न महिला हिंसा न्युनिकरण गर्छु महिला पुरुष बराबर हुन भनि ठुला हावा गफ दिईरहेका हुन्छन् । कोरा किताबका पानामा कानुन छापिरहेका हुन्छन् ।

कानुन किताबमा हैन व्यवहार हुनुपर्छ समानता कुरामा हैन व्यवहारमा हुनुपर्छ ।

त्यहाँ शिक्षितका नाममा कलङ्क छन जो पढेलेखेका छन तिनिहरू नै यस्ता विभेद गरिरहरका छन् । महिला घरमै सुहाउछन भन्छन , महिलाको लागि भान्छा नै राम्रो भन्छन् , जुन छोरी मान्छे समाजमा यताउता जान्छे त्यो बिग्रेका हो, त्यो चरित्रहिन हो भनेर भन्छन् , के यसरी हाम्रो समाजका महिलाको विकास सम्भव होला र ? के यसरी हाम्रो समाज अगाडि बढला र ? एकफेर सोचौं, हामीले हाम्रा दिदी बहिनीहरुका लागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौर ? चाहे हामी महिला हौं या पुरुष, नारी समानताकालागि हाम्रो भुमिका उत्तिकै महत्वपूर्ण छ ।

मैले बुझेकी छु !

नेपाली महिला मानसिक रूपमा मात्र नभै शारीरिक रूपमा पनि पुरुषजत्तिकै समान हुन्छन् भन्ने कुरा स्वर्गीय पासाङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा टेकेर प्रमाणित गरिसकेकी छन् । त्यस्तै, खेलकुद क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विभिन्न पदकहरू ल्याई त्यसलाई प्रमाणित गरिदिएका छन् । यस्ता धेरै उदाहरण छन् । नेपाली नारीहरू पुरुषको तुलनामा बढी काम गर्छन् । अझ ग्रामीण परिवेशमा घरायसी महिलाहरू बिहानीको झिसमिसे उज्यालोदेखि राति नसुतुन्जेलसम्म झन्डै १७ देखि १८ घण्टा काम गर्छन् । त्यति मात्र होइन उनीहरू घरको कामकाजबाहेक खेतीपाती अनि गाइवस्तुका साथै आफ्ना बालबालिकाहरूको स्याहार पनि गर्छन् । तर खानपानका साथै स्वास्थ्यमा खासै ध्यान दिएको पाइँदैन ।

मैले बुझेकी छु !

धार्मिक दृष्टिले हेर्ने हो भने काली, भगवती, लक्ष्मी, सरस्वती, जीवित देवी कुमारीलगायत सबै नारीकै अवतार हुन् । हिन्दू, बौद्ध धर्ममा पनि यी देवीहरूलाई पूजा गरिन्छ । हामी नारीलाई घरकी लक्ष्मीका रूपमा आदर गर्छौं । नेपाली समाजमा ‘जुन घरमा नारीको सम्मान हुन्छ, इज्जत गरिन्छ, त्यस घरमा देवताको बास हुन्छ’ भन्ने मान्यता पनि प्रचलनमा छ । देवीका रूपमा कुमारी, पञ्चकन्या, लक्ष्मी, भगवती र सरस्वतीको पूजा गरिन्छ । यहाँसम्म कि राष्ट्रियतालाई पनि नारी बोधक सम्बोधन ‘नेपाल आमा’ भनेर श्रद्धा प्रकट गरिन्छ ।

मैले बुझेकी छु !

महाभारत हेरौँ वा रामायण इतिहास साक्षी छ, नारीको अपमान गरेर उनलाई तुच्छ ठानेर कुनै परिवार, समाज र राष्ट्र सुखी र समृद्ध हुन सकेको छैन । नारी र पुरुषलाई प्रकृतिले आ–आफ्नै पहिचान र महत्व दिएको छ । त्यसैले नारीलाई पुरुषको स्थान दिन आवश्यक छैन तर नारीलाई आफ्नै स्थान स–सम्मान दिन अत्यावश्यक छ । भौतिक विकासको हिसाबले होस तथा बौद्घिक ज्ञानको विकासको हिसाबले होस, हामी मानव इतिहासको स्वर्णिम युगमा छौं । विगतमा शिक्षाको कमी, चेतनाको कमी वा मानवताको कमीको कारण भएका असमझदारी र गल्तीहरु वर्तमानमा दोहो–याउन आवश्यक पर्दैन । प्राणी जगतमै सबैभन्दा चेतनशील र विवेकशील प्राणी हामीले अर्को मानवलाई समान देख्न र मान्न सकेनौँ भने यि सबै ज्ञान र चेतनाको भण्डारको के नै औचित्य रहन्छ र ?

म फेरी भन्छु !

नारी श्रृष्टि हो । सम्हालेर राख्न सिक । नारी मायाको खानी हुन, सम्मान गर्न सिक । नारी शक्तिको भण्डार हुन, उपयोग गर्न सिक । नारी काली, दुर्गा, चण्डी हुन तिनबाट बच्न सिक । नारी हुनुमा गर्व छ मलाई, सायद सबै नारी आफु नारी हुनमा गर्ब नै गर्नुहुन्छ । विशेषत उहाँहरुले नै आफ्नो भित्र भएका क्षमता अनि ताकतलाई चिन्नु भएको छ । यदाकदा सुनिन्छ । किन नारी भएर जन्मेहोला त्यो उहाँहरुको गल्ती हैन त्यो त हाम्रो हिन्दु समाज अनि यो पुरुष प्रधान देश र हाम्रो नेपाली समाजको कमजोरी हो । हरेक जिवनको अन्त्य हुन्छ । त्यसमा नारी अन्त्य कहिले हुदैन किन कि नारीले आफुले सन्तानलाई जन्म दिएर पुर्नजन्म लिई सकेको हुन्छिन त्यसैले त भनिन्छ नारी अमर हुन्छिन । मैले यसरी भनिरहदा तपाई पाठकलाई लागिरहेको छ कि घमण्ड गरिरहेको छ । समाजमा यतिका अनैतिक कार्यहरु भईरहदा मैले यस्तो लेख्नु सान्दर्भिक होला नहोला मलाई थाहा छैन तर मलाई यति थाहा छ म नारी हुनुमा गर्ब गर्छु । मलाई थाहा छ मेरो समाज कस्तो छ । त्यसलाई म कसरी लिन्छु । म जुन समाजमा जन्मे, जुन समाजमा हुर्के म त्यो समाजको सम्मान गर्छु, मलाई माया लाग्छ यस्तो समाजमा जन्मेकोमा विकसित हुदै जान्छ अनि विकासको लहरसंगै नारी शसक्तिकरण हुन्छ ।

यो कुरा पनि सोचौ !

इतिहास साक्षी छ हरेक युगमा नारी, हेपिएकी छिन्, पटक पटक नारी लुटिएकि छिन्, कुटिएकी छिन्, दविएकी छिन् । हर कोहीबाट सताईएर डरैडरमा खुम्चिएकी छिन् नारी, अनेक आरोपमा पिसिएर आफूमै मुल्यहीन हुन्छिन् नारी। तैपनि सृष्टिलाई बचाउन चुपचाप चोट सहन्छिंन् नारी, जन्म देखि मृत्युसम्म चुनौतीसँग लड़छिंन् नारी, आफ्नो अस्तित्व बचाउन सधैँ संघर्षमा जुध्छिन् नारी । महाभारतको युगमा ईज्यत जुवाको दाउमा लगाएकी द्रौपदी पनि एक नारी नै थीइन्। सतित्वको अग्नि परिक्षामा आफ्नै पतिलाई दिने सीता पनि एक नारी नै थिइन्।

मेरो समाजलाई मेरो आग्रह !

खुम्चिएको मानसिकता लाई शिक्षा र ज्ञानले भर्न र बढाउन सके समुन्नत समाजको आशा गर्ने प्रसस्त ठाउ छ । बिभिन्न गैरसरकारी नियोग र राष्ट्र संघिय नियोगका साथै देश भित्र महिला हकहित र अधिकार का लागी काम गर्न लागिपरेका निकायहाँरुले सहयोगी भूमिका खेलिरहेको सत्यता पनि छ हामिसँग । तसर्थ महिला आफु कुनैपनी निर्वाध पाउनुपर्ने अधिकारको अपेक्षा गर्न मा डराउउनु पर्ने अवस्था छैन । नितिगत सुधारका लागी दृस्टिगत निकाय महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय ले पनि प्रभावकारी भूमिका निर्वाह गरेमा आगामी दिनमा महिला सँग जोडिएका अप्रिय घटना हुन सुन्नमा निकै कमी आउने थियो की ?

भावना भट्ट जोशी शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकडा दार्चुला

माईतीघर पन्चेश्वोर गाउँपालिका वडा नम्बर ६ विजुल बैतडी ।

Leave A Reply

Your email address will not be published.