सीमा नाका झुलाघाटमा आवतजावतमा कडीकडाई

दार्चुला – भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहहरुलाई पत्राचार समेत गरिएको उनले बताए ।

यस्तै सीमा नाका झुलाघाटबाट फर्कने नागरिकहरुको एन्टीजेन टेस्ट गर्ने गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि सल्लाह दिने गरिएको सूचना अधिकारी भारतीले बताए ।

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाई गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य खोप कार्ड लैजानुपर्ने भएको छ । कोरोना विरुद्धको खोप लगाएको कार्ड भए मात्रै भारत पस्न दिने भारतीय प्रशासनले जनाएको छ ।

पिथौरागढ जिल्लाधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेहरुलाई अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । कार्ड नभएकाहरुलाई सीमाबाट जान नदिने भारतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.