दार्चुला – पश्चिमी वायुको प्रभावसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बद्लिएको छ । दिउँसोदेखि बिस्तारै वाग्मती र प्रदेश १ मा पनि पश्चिमी वायुको असर देखिने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हल्कादेखि भारी हिमपात हुने मौसमविद् मानन्धरले बताउनुभयो ।
प्रदेश २ मा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यस्तै, भरे राति पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात र प्रदेश २ बाहेकका अन्य ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव आज र भोलि रहने छ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा नजान र यात्राका क्रममा पनि सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पर्सिदेखि भने मौसम खुल्दै जाने अनुमान गरिएको छ ।