कैलालीका भूपेन्द्र को हत्या आरोपमा ९ जना कारागार चलान ३ धरौटीमा रिहा

दार्चुला । कैलालीको लम्कीचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालको हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन भने ३ जना धरौटीमा छुटेका छन् ।

शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

त्यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही भने धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

उनीहरु तीन जनामाथि बडुुवालको हत्याका अभियुक्तहरुलाई सघाएको मतियारआरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो । बडुवाल हत्या प्रकरणमा फरार रहेका अन्य ९ जनाको बारेमा भने अदालत तत्काल केही नबोलेको प्रहरी नायब उपरीक्षक जोशीले बतानुभयो।

लम्कीचुहाका बडुुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । घटनामा संलग्न अन्य ९ जना अझै फरार रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.