सवारी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा बैतडीमा शोक बिदा

दार्चुला । बैतडीको पाटन नगरपालिकामा मंगलवार शोक बिदा दिइएको छ । सोमबार अपराह्न टिप्पर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।
दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सोमवार अपराह्न भएको टिप्पर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् ।

राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् ।

घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ बर्षका सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन् । उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.