भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची , १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी

दार्चुला – इन्डियन आयल कर्पोरेशन आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आज शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य थोरै घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेको छ । डिजल भने लिटरमा शून्य दशमलव ०२ पैसा बढेको छ । यस्तै मट्टीतेल २२ रुपैयाँ नौ पैसा र हवाई इन्धन चार रुपैयाँ २३ पैसा बढेर आएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ७३ रुपैयाँ ३८ पैसा बढेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य र अहिलेको मूल्य तथा खपतको हिसाब गर्दा निगमलाई अबको १५ दिनमा झन्डै पाँच अर्ब २१ करोड नोक्सान रहने उसको दाबी गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ सात पैसा, डिजलमा ३२ रुपैयाँ १७ पैसा र ग्यासमा प्रतिसिलिन्डर नौ सय ५३ रुपैयाँ ६६ पैसा नोक्सान छ । मट्टीतेलको हकमा एक रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा फाइदा रहेको पनि निगमले जनाएको छ ।

यसैबीच राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको छ । पेट्रोलियम पदार्थको भाउ बढेअनुसार बिक्रेता कमिसन नबढेको भन्दै व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका हुन् ।

Leave A Reply

Your email address will not be published.