दार्चुला । विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभूषित गरिएको छ।
स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको हो।विहीबार काठमाडौंमा आयोजित विशेष सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित गरेकी हुन्।
विशेष सुशोभन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको हितमा युवा स्वयंसेवक परिचालनको निर्धारण गरी नेपाल स्काउटको विकासमा योगदान गरेकाले सम्मान गरिएको बताइन्।
उनले मुलुक समृद्ध नेपाल सुखी नेपाली अभियानमा सक्रिय रुपमा लागेकाले यो अभियानमा स्काउटरहरुले महत्वपूर्ण योगदान पुर्याउन जरुरी रहेको पनि बताइन् ।राष्ट्रपति भण्डारीले नेपाली युवा र बालबालिकाहरूलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी नागरिक बनाउनको लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने धारणा राखिन्।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्काउटलाई अगाडि बढाउनको लागि हौसला र प्रेरणा दिने काममा अरुलाई पनि प्रोत्साहन मिलोस् भन्नको लागि ‘मेधावी योगदान’ उच्च पदक ग्रहण गरेको बताए।
उनले विद्यार्थी जीवन देखि जीवन अनुशासित, कर्तव्य परायण र मानवीय भावना सहितको विश्वका मानव जातिका लागि सुन्दर समाज निर्माण गर्नसक्ने हुनुपर्ने रहेको धारणा राखे।ओलीले विश्वका मानव जातिका लागि सुन्दर समाज आवश्यक देखेर नेपाल स्काउटसँग निकट सम्बन्ध राखेको बताए।उनले नेपाल स्काउट अन्तर्राष्ट्रिय स्तरमा नै एउटा उदाहरणीय संगठनको रुपमा अगाडि बढेको समेत दाबी गरे।
प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गर्दै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो। विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यो पदकबाट विभूषित भएका छन्।