भारतले कटौती गर्दा नेपालका उद्योगमा बिजुली दिन समस्या

दार्चुला– भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस–युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिनुभयो । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।

‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हुन्छ भनेर जानकारी गराउँछौँ । यति–यति बजे काट्छौँ भन्न सक्दैनौँ, किन भने कति बिजुली ल्याउन सकिन्छ भन्ने टुङ्गो नै हुँदैन’, उहाँले भन्नुभयो । भारतको बिहार राज्यले चाँडै नै आपूर्ति मिलाउने आश्वासन दिएकाले केही दिनमै समस्या समाधान हुने घिसिङको भनाइ छ ।

केही दिनमा हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले नेपालकै आन्तरिक उत्पादनले नै माग धान्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ‘अहिले हामीलाई अपुग भनेको तीन सय मेगावाट हो ।

गएको वर्ष यो बेला दैनिक आठ सय मेगावाट बिजुली आयात भएको थियो । तर यो वर्ष माथिल्लो तामाकोसी आएकोले आयात घटेको छ र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ । पिकमा आयात कम गर्छौँ’, घिसिङले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.