दार्चुला – कमजोर विद्युत संरचना र विद्युत वितरण निकायको लापरबाहीका कारण दार्चुलावासी मारमा परेका छन्। विद्युत प्राधिकरणले वितरण गरेको विद्युत लाइनमा कहिले उच्च भोल्टेज त कहिले कम भोल्टेज आउने गरेका कारण अनियमित विद्युत कटौतीको समस्या बढ्दै गएपछि दार्चुलावासी मारमा परेका हुन्।
पूर्व सूचनाबिना विद्युत प्राधिकरणले पटकपटक विद्युत कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन्। मिनेटमिनेटमा बिजुली आउने र जाने समस्याले स्थानीयले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ। साँझ ,बिहान र दिउसो तालिकाबिना लोडसेडिङ हुँदा बढी समस्यामा भइरहेको छ।
अनियमित कटौतिका कारण व्यवसायी, बैंक, सहकारीलगायत कार्यालयका काम कार्बाहीमा असर पर्न थालेको छ। अनियमित विद्युत कटौतिको समस्या हल गर्न प्राधिकरणले सुधारका काम गरिरहेको विद्युत प्राधिकरण कार्यालय बितरण केन्द्र दार्चुलाले बताउनुभयो।
विद्युत उत्पादन पर्याप्त भएपनि प्राधिकरणको व्यवस्थापकीय कमजोरीका कारण उपभोक्ताले भने सधैभरी यसैगरी अनियमित विद्युतको सामना गर्नु परिरहेको सरोकारवाला बताउँछन्।
