बैतडीमा खोरेत रोग फैलियो

दार्चुला । बैतडीमा खोरेत रोग प्रकोपका रूपमा देखा परेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।

.
जिल्लाका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो। पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको उहाँले बताउनुभयो ।

खोरेत रोग देखा परेका ठाउँमा खोरेत रोगविरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।

खोरेत रोग लागेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो रङ्गको हुने, मुखभित्र जिब्रो, गिँजा र खुट्टाको दुई खुरको बीचमा फोका बन्ने, मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने, खुट्टा खोच्याउने, १०६ डिग्री फरेनहइट ज्वरो आउने, दानापानी नखाने, दुहुना पशुले दूध उत्पादन घटाउने गर्दछ । थुन र फाँचोमा पनि घाउ आउन सक्ने र थुनेलो समेत गराउने, कतिपय ब्याउने पशु तुहिन्छ र बाँझोपनका लक्षणहरु देखापर्ने पशुस्वास्थ्य प्राविधिक बताउँछन् ।

कात्तिकको दोस्रो साताबाट यस क्षेत्रमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । बेलाबेलामा खोरेतविरुद्धको भ्याक्सिन लगाइयो भने यो रोग लाग्नबाट पशुलाई बचाउन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.