अछामको पञ्चदेवल विनायक नगरपालिकासहित सबै वडामा तालाबन्दी

दार्चुला । अछामको पञ्चदेवल विनायक नगरपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाको वडा नम्बर ४ का किशोर विनोद शाहीको हत्याका आरोपी अझैँ पक्राउ नपरेका भन्दै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको हो। नगरपालिकाको कार्यालय भने जेठ २२ गतेदेखि नै बन्द थियो।

१५ वर्षीय विनोद जेठ २१ गते बिहान १० बजे गाउँनजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै नगरपालिका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरिएको थियो। तीमध्ये पाँचजना पक्राउ परेका छन्। तर मुख्य आरोपी मेयर चलाउने र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीसहितका अन्य आठजनालाई पक्राउ नगरेपछि बिहीबारबाट नगरपालिकाका नौवटै वडा कार्यालयमा तालाबन्दी गरेको उनका दाजु बखतबहादुर शाहीले बताए।

हत्यामा संलग्नलाई पक्राउ गर्ने र नगरपालिकाको कामकाज सुचारु गर्न पटक–पटक छलफल गर्न खोज्द पनि अधिकांश वडाध्यक्षहरू उपस्थित नहुँदा छलफल हुन नसकेको उनले बताए। पीडित पक्षले हत्याका मुख्य आरोपीहरू छानबिनको दायरामा नआए आइतबारदेखि जिल्लाभर हडताल गर्ने चेतावनी दिएका छन्।

Leave A Reply

Your email address will not be published.