दार्चुला । डोटीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्। यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन्।
केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सस्थाले जनाएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेकोे जानकारी दिनुभयो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण जोशीले अस्पतालमा अन्य रोगभन्दा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । दैनिक आउने ज्वरोका बिरामीका कारण उपचार गर्नमा निकै समस्या हुँदै आएको पनि उहाँले बताउनुभयो निजीस्तरका अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ३०-४० प्रतिशत भाइरल ज्वरोको समस्या हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा. ललित लिम्बूले बताउनुभयो । ज्वरोका कारण बालबालिका निकै प्रभावित रहेको पनि उहाँले बताउनुभयो ।
मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले बताउनुभयो। यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।।