सुदूरपश्चिमका युवाको आवाज- संसदीय चुनावमा भाषणवालालाई होइन, भिजनवालालाई भोट

दार्चुला- संसदीय चुनावको चर्चाले गाउँघर सहर बजार तातिएका छन्। नेताहरु भोट बटुल्न तयारी गरिरहेका छन्। उम्मेदवारका लागि सिफारिस भएकाहरु पनि जिल्ला पसिसकेका छन्। नेताहरु जनता फकाउनमा व्यस्त भइरहेका बेला नागरिक तथा युवाहरुले भने आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा व्यक्ति हेरेर मतदान गर्ने प्रतिक्रिया प्रस्तुत गरेका छन्। धनगढीमा भेटिएका पहिलोपटक मतदान गर्ने अवसर पाएका युवाहरुले उम्मेदवारको प्रतिवद्धता, भाषण सुनेर मात्रै भोट नहाल्ने बताएका हुन्। कसैले भनेको आधारमा नभएर जिम्मेवारीपूर्वक निर्णय लिने बझाङ घर भएका विष्णु जप्रेलले बताए। “यो पटक मतदान गर्ने उमेर पुगेको छ, म भोट हाल्न निकै प्रतिक्षारत छु,“ उनले भने, “भोट हाल्दा कसैको कुरा नसुनेर आफ्नो मनले ठिक छ भन्ने लागेको उम्मेदवारलाई भोट दिन्छु।“ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला घर भएका नयाँ तथा युवा मतदाताले जिम्मेवार भएर मताधिकार प्रयोग गर्ने बताएका हुन्। १८ वर्ष पूरा भएर पहिलो पटक मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा जिम्मेवार भएर मतदाताको कर्तव्य पूरा गर्न सही व्यक्तिलाई जिताउन मताधिकार प्रयोग गर्ने धनगढीकी सुमिता खड्काले बताइन्। “मलाई कानुनले मतदान गर्ने अधिकार दिएको छ, म यो पटक भोट दिन्छु,“ उनले भनिन्, “जिम्मेवार भएर भिजन भएको उम्मेदवारलाई भोट दिन्छु।ू अछामका बमबहादुर विश्वकर्माले चुनावी नारा र घोषणा पत्र हेरेर मात्रै भोट नदिने पक्षमा रहेको बताएका छन्। उनले सबै दल र उम्मेदवारको विगत र वर्तमानको मुल्याङ्कन गरेर मतदान गर्ने बताएका छन्। मतदान गर्दा विवेकपूर्ण निर्णय गर्ने विश्वकर्माले बताए। “म यो पटक पहिलो चोटि मतदान गर्दैछु, म अपाङ्गता भएको व्यक्ती हुँ, आफूले विश्वास गरेको व्यक्तिलाई मतदान गर्न लगाउँछु,“उनले भने, “तर मैले कसैलाई सोधेर भोट हाल्दैन, आफ्नो मनलाई सोधेर भोट दिनेछु।“ युवा मतदाताले कुनै पनि नेताको भाषण सुनेकै भरमा मतदान नगर्ने बताएका छन्। घोषणा पत्र पढेर र आमसभाको भाषणभन्दा पनि उम्मेदवारको भिजन हेरेर मतदान गर्ने तर्क धनगढीका युवा रविन तिवारीको छ। “म कुनै पनि पार्टीको समर्थक होइन, केही व्यक्ती मन पर्छन् तर भोट भने भाषण सुनेर दिने पक्षमा छैन,“उनले भने, “भिजन भएको यो–यो काम यसरी– गर्छु भन्ने उम्मेदवारलाई भोट हाल्ने हो। पहाडी जिल्लाका युवाहरुले भने विकट गाउँ र बस्तीका पीडा र समस्या समाधान गर्न सक्ने व्यक्तिलाई मतदान गर्ने चाहना व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रका समस्या बुझेर समाधानका लागि काम गर्नसक्ने प्रतिनिधि छान्न मंसिर ४ को पर्खाइमा रहेको बैतडीका रोहित पार्कीले बताए। “दुर्गम बस्तीको समस्या समाधान गर्ने हैसियत उम्मेदवारलाई भोट दिने मन छ,“ उनले भने, “सही व्यक्तिलाई भोट दिनुपर्ने मेरो मान्यता छ।“ सुदूरपश्चिमका विभिन्न जिल्लाका २५ वर्षमुनिका युवाहरूले राजनीतिमा युवाहरूको सशक्त उपस्थिति हुनुपर्ने बताएका छन्।अवको युवाले विदेश पलायन हुने विकल्प मात्रै देख्न नहुने आफैं राजनीतिक नेतृत्व लिन अग्रसर हुनुपर्ने दार्चुलाका विनोदराज जोशीको धारणा छ। “हामी युवाहरूमा योरोप पलायनको सपना मात्रै हुनुहुन्न, सुदूरपश्चिमका समस्या र सम्भावना के हुन् भनेर हामीले अध्ययन पनि गरेको हुनुपर्छ,“ उनले भने, “युवाहरूमा राजनीति प्रतिको तृष्णा हुनुपर्छ, अहिले भोट हाल्ने, आफ्नो भोटको हिसाब माग्ने अनि भोलि आफ्नै लागि भोट माग्ने अवस्था निर्माण गर्न पनि युवाहरूले साहस राख्नुपर्ने हुन्छ।“ आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न उत्साहका साथ प्रतिक्षारत रहेको नयाँ तथा युवा मतदाताले बताएका छन्।

 

 

Leave A Reply

Your email address will not be published.