सुदूरपश्चिमका सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिए

दार्चुला – मंसिर ४ गते हुने चुनावका लागि सुदूरपश्चिम प्रदेशमा कर्मचारी खटाउने काम सकिएको छ। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले प्रदेशभरका निर्वाचन केन्द्रमा मतदान अधिकृत तथा सहायक कर्मचारी खटाउने काम सकिएको हो।

प्रदेश निर्वाचन कार्यालयले प्रदेशभर २५ हजार कर्मचारी खटाएको जनाएको छ। प्रदेशतर्फ ३२ र प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको कैलालीमा भने सबैभन्दा बढी प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेका छन्। यसैगरी कञ्चनपुरमा संघमा ३ र प्रदेशका लागि ६ निर्वाचन क्षेत्र रहेका छन्।

अछाममा संघतर्फ २ र प्रदेशमा ४ निर्वाचन क्षेत्र रहेका छन् भने अन्य सबै पहाडी जिल्लामा संघतर्फ १ र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र छन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले चुनावका लागि खटिएका सुरक्षाकर्मी र कर्मचारी तोकिएको निर्वाचन केन्द्रमा पुग्ने निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए।

बिहीबार सुदूरपश्चिमका सबै निर्वाचन केन्द्रमा खटिएका कर्मचारी पुग्ने छन्, उनले भने, त्यसपछि अधिकारीहरूले चुनावका लागि आवश्यक तयारी गर्नेछन्।ू सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा साढे सात हजार कर्मचारी खटिएका छन्।

बिहीबार प्रदेशभरका सबै निर्वाचन केन्द्रमा मतदान गराउन खटिएका अधिकारी पुग्ने छन्। त्यसपछि मतदान पूर्वको सबै तयारी गरिने छ। अधिकारीहरूले सार्वजनिक सूचना जारी गर्ने, सर्वदलीय बैठक राख्ने, मतदानका लागि अवश्यक भौतिक संरचना तयारी गर्ने काम ४ गते पूर्व नै गरिने छ।

मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सबै निर्वाचन केन्द्रमा मतदान हुनेछ। साँझ ५ बज्नुभन्दा अगाडि मतदानका लागि लाइनमा लागेका सबैले मतदान गरेपछि मात्रै मतदान कार्य रोकिने छ। निर्वाचन क्षेत्रमै मतगणनासमेत हुनेछ। निर्वाचन सुरक्षा प्रयोजनका लागि कर्मचारीसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी पनि परिचालन गरिने निमित्त निर्वाचन अधिकारी भट्टले बताए।

मंसिर ४ गते हुने चुनावका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता छन। प्रदेश सभाका लागि प्रत्यक्ष र सामानुपातिक गरि ५३ जना चुनिने छन् भने प्रतिनिधि सभाका लागि १६ सदस्य निर्वाचित हुने छन्।

Leave A Reply

Your email address will not be published.