बैतडीमा शिक्षक मृत्यु प्रकरण : यातायात अवरुद्ध, पाटनका विद्यालय आज पनि बन्द

Krishna

दार्चुला –बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै थप आन्दोलन चर्किएको छ । मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानदैखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेको छ ।

यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।

शिक्षक बिष्टको भवितब्य मृत्यु नभइ हत्या गरिएको भन्दै संघर्ष समितिले चाँडो दोषी पत्ता लगाउन आग्रह गरेको छ । यस्तै पाटन नगरपालिका क्षेत्रभित्रका विद्यालय आज पनि बन्द रहने भएका छन् । संघर्ष समितिको आन्दोलनको कार्यक्रम अनुसार आज पनि विद्यालय बन्द रहने बताइएको छ । मृतकका आफन्तले अझै पनि शव बुझेका छैनन् ।

घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीले समेत काम गरिरहेको छ । मंगलबार पुगेको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मंगलबार ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको उनले बताए । घटनाका बिषयमा सुक्ष्म हिसाबले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

सगुन खबरबाट साभार

Leave A Reply

Your email address will not be published.