दार्चुला- प्रविधिको दुरुपयोग गरी बैंकिङ्ग प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानुनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो ।
चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभइ मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौका अनुसार मानिसलाई धेरै तलब डलर मा प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत् सम्पर्कमा आएका युवालाई विदेश पुर्याउने र गैरकानुनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो ।
यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्कामा अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाण्डौ जिल्ला अदालतको आदेशले यसरी मानव बेचबिखनमा संलग्न अभियुक्त चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यस्ता कार्यमा सहयोगीको भूमिकामा रहेका केही नेपालीलाई अनुसन्धानको दायरामा ल्याइएको पनि उहाँले बताउनुभयो । उनीहरू व्यापारिक भिसा लिएर विगत पाँच वर्षदेखि नेपाल बस्दै आएका थिए । आरोपी रुङ भने आईटी इञ्जिनियरसमेत हुन् । उनले नेपाली महिलासँग विवाह गरेर नेपाल बस्दै आएको खुलेको छ । उनीहरूले नेपाली एजेन्टसमेतको प्रयोग गरी मानिसलाई यहाँबाट भारत हुँदै थाइल्याण्ड पुर्याएर त्यहाँबाट गाडीमा लाओस पठाइ मानव बेचबिखन गरेको ब्युरोको दाबी छ ।
उनीहरूले सुरुमा लाओसको सेल्स मार्केटिङमा एक हजारदेखि एक हजार ५०० डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर नेपालबाट मानिस लाओस पठाउँदै आएका थिए । लाओस पुर्याएर आईटी कम्पनीमा राखेर त्यहाँबाट नक्कली सामाजिक सञ्जाल खोल्न लगाएर विट क्वाइनमा लगानी गराउन सामाजिक सञ्जालबाट विभिन्न देशमा मानिससँग सम्पर्क गर्न लगाइ कानुनविपरीतका कार्यमा संलग्न गराइएको पीडितहरूले बताएका छन् । ती चिनियाँ नागरिकले सुरुमा पीडितबाट जनही तीन लाख ९० हजार रुपैयाँ लिएको पाइएको र त्यहाँ पुगेपछि गरेको कामको पारिश्रमिक पनि नदिएको फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । उनीहरूमार्फत् बेचबिखनमा परेका धेरै नेपाली अझै पनि लाओसमा रहेको र उद्धार पर्खिरहेको पनि पीडितले बताएका छन् । यस विषयमा अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । यसरी बेचबिखनमा परेका भनेर तीन महिला र सात पुरुषले छुट्टाछुट्टैरूपमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । यसरी भएको थियो घटना चिनियाँ र अङ्ग्रेजी भाषासमेत जानेका युवालाई उनीहरूले पहिलो प्राथमिकतामा राखेर यसरी विदेश पठाउने गरेका थिए । त्यही क्रममा डलरमा तलब पाउने लोभमा काठमाण्डौमा कक्षा १२ सकेका केही युवा चिनियाँ नागरिकको सम्पर्कमा आएका थिए ।सुरुमा ती विद्यार्थीलाई अन्तर्वार्ता नै लिएर उनीहरूले आकर्षक तलब पाउने प्रलोभनमा गएको भदौ १७ गते सडकमार्गबाट भारत अनि थाइल्याण्ड हुँदै लाओस पुर्याइएका थिए । बीचमा फरकफरक व्यक्ति जोडिएर उनीहरूलाई लाओस पुर्याएको पीडितहरूले बताएका छन् । त्यसपछि भनेको कम्पनीमा काम नलगाइ पीडितलाई गैरकानुनी काममा लगाइएको थियो । दुई महिना काम गरेपछि आफन्तको सहयोगमा उनीहरू गएको कात्तिक २५ गते नेपाल फर्कन सफल भए । अनि पीडितले कात्तिक ३० गते ब्युरोमा जाहेरी दिएका र त्यही जाहेरीका आधारमा प्रहरीले काठमाण्डौको ठमेलबाट मङ्सिर ८ गते चेन याङलाई पक्राउ गर्यो । उनलाई पक्राउ गरेको चाल पाएका अर्का अभियुक्त रुङ भने भागे । उनी भागेको थाहा पाएको प्रहरीले सबै नाकामा निगरानी बढाएकामा मङ्सिर ९ गते बिहानै बङ्लादेश जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भयो । उनीहरूमाथि झण्डै १५ दिनको आवश्यक अनुसन्धानपछि प्रहरीले मङ्सिर २७ गते अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यही मिसिलका आधारमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को कसुरअन्तर्गत अभियोगपत्र दर्ता भएकोमा काठमाण्डौ जिल्ला अदालतमा मङ्गलवार पुस ५ गते थुनछेक बहस भएको थियो। अदालतले त्यही दिन नै दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनीहरूले पठाएका धेरै नेपाली लाओसमा बन्धक जस्तैगरी राखिएको सूचना आएकाले उनीहरूको पनि उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
