कांग्रेसको पालिका अधिवेशन आजदेखि

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ ।

 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भइ अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन सुरु भएको छ । काठमाण्डौमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ।

 

काठमाण्डौको वडा अधिवेशन असोज ५ गते सुरु भएको थियो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाण्डौका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा आज पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिनुभयो ।

 

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश(२ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

 

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रवार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले  निर्णय गरेको छ ।

 

कांग्रेसको वडा अधिवेशन गएको भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँरनगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो ।

 

यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आउँदो मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।

 

यसैबीच कांग्रेसले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा अहिलेको व्यवस्थाअनुसार त्यस तहहरुमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

 

शुक्रवारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीसहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा अहिलेको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा अहिलेको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.