दार्चुला । दार्चुला जिल्लामा दोस्रो संस्करणको मालिकार्जुन प्रिमियर लिग एमपीएल क्रिकेट प्रतियोगिता कार्तिक ८ गतेदेखि आयोजना हुने भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने एमपीएल प्रतियोगिता कार्तिक ८ गतेबाट १७ गतेसम्म सञ्चालन हुने दिपेन्द्र धामी स्मृती प्रतिष्ठानका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो।
दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता महाकाली नगपालिका वडा नम्वर ९ दत्तुस्थित सकार क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन कार्तिक ६ गतेसम्म टिम दर्ताको समय रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैया पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५५५ रुपैया पाउने छन् ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदवाट अनुमति प्राप्त गरिसकेको र प्रतियोगिताका उत्कृष्ट १५ जना खेलाडीहरुलाई छात्रवृति सहित खेलकुदमा अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा वेष्ट बलरलाई ३ हजार ५ सयसहित ट्रफी, वेष्ट ब्याट्सम्यान ३ हजार ५ सयसहित ट्रफी र उदयमान खेलाडीलाई ७ हजार ५ सय पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।
