दार्चुला – जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी बोकेर विमानस्थल पु¥याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएका छन।
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस का ६० वर्षीय दीर्घरोगी वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता हुनुपरेको हो। उपचारका लागि उहाका छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो। जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ।
बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन्। “बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ दीर्घले गुनासो गरे।
यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन्।
नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीबासिहरुले निक्कै सास्ती खेप्नुपरेको छ। अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान भर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको हो। सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ। आफन्त र चिनजानका आधारमा दसैँ, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन्।