दार्चुला । सामाजिक सञ्जालमा केही कुरा संप्रेषण गरेर मैले प्रशिद्धि कामउनु त छैन । तर मेराे अध्ययन र जानकारी अनुसार समाजमा हुने गरेका बेथितिजन्य कृयाकलाप, समसामयिक घटना, विभिन्न ठाउँकाे चिनारी तथा तस्बिर पाेष्ट गर्ने मेराे दैनिकी नै भइसकेको छ ।
कालापानी, लिपुलेक र लिम्पिया धुरा नेपालकै भूमि हाे, यसमा कुनै शंका उपशंका छैन । मेराे बुझाइमा भारतले एकतर्फी रुपमा उक्त क्षेत्र अतिक्रमण गरेर सैनिक क्याम्प नै खडा गर्नु, नेपाललाई वेवास्ता गरेर चीनसँग दुईपक्षीय व्यापारीक सम्झाैता गर्नु, उक्त क्षेत्रमा बसाेबास गरेका मानिसहरूलाई स्वास्थ्य, शिक्षा, राेजगार लगायत अन्य आवश्यक सेवासुविधा उपलब्ध गराउनुले भारतले उक्त भूमिलाई आफ्नाे बिर्ता सम्झेकाे छ । भारतले यति बेथिति गर्दा पनि हाम्राे देशका नेताहरू तथा याे दुईतिहाइकाे सरकार के हेरेर बसेकाे हाेला कुन्नि ! कालापानी, लिपुलेक र लिम्पिया धुराकाे बारेमा लेख्दै गर्दा कुनै राजनीतिक पूर्वाग्रह विना भन्नुपर्दा हाम्राे देशका सम्माननीय प्रधानमन्त्री निडर, हठी स्वभावका व्यक्ति हुन् । जसले ६ महिना सम्म डटेर नझुकेर भारतकाे नाकाबन्दीकाे सामना गरेकाे यथार्थ हाम्राे सामु छ । विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रधानमन्त्रीकाे विराेध मात्र गरेकाे सुनिन्छ । जसले संसदबाट दसईतिहाइ बहुमतले उक्त विवादित क्षेत्र नेपालकै हाे भनेर चुच्चे नस्सा समेत जारी गरिसकेको अवस्थामा भारत भ्रमणकाे मुख्य एजेन्डा नै कालापानी, लिपुलेक र लिम्पिया धुराकाे विवाद सुल्झाउनु नै हुनेछ भन्नेमा विश्वस्त छु ।
प्रधानमन्त्रीज्यूले उक्त भारतले मिचेकाे भूमि नेपालकाे भूमि कायम गर्ने छन् । प्रधानमन्त्रीज्यूले समस्या हाेइन भन्नु हुन्छ । ठिकै पनि हाे, समस्या नभएर विवाद मात्र हाे । विवाद समाधान हुनेमा विश्वास गर्न सकिन्छ । मेराे जानकारी अनुसार याे क्रम राजा महेन्द्रकाे पालादेखि नै सुरु भएकाे देखिन्छ । यसकाे लागि सुगाैली सन्धिकाे बारेमा राम्राे जानकारी हुनु पनि जरुरी छ । नेताहरूले चुनावी नारा बनाएकाे, कलाकारले गीत बनाएकाे, कालापानी, लिपुलेक र लिम्पियाधुरा अहिले राेइरहेकाे अनुभूति गरेकाे छु । राष्ट्रिय जनगणना २०७८ मा उक्त क्षेत्रकाे जनसंख्या लगायतका विविध कुराहरू समिएकाे पनि देखिएन र त्यहाँका जनताहरुले पाउने सेवा सुविधाहरु भारत सरकारले उपलब्ध गराई रहेकाे छ । यस्तै यस्तै मुद्दा उठाएर लाेकप्रियता कामउन सकिने भए सिक्किम पनि नेपालकाे नै हाे भन्दा कसाे हाेला ? सिक्किमकाे मुद्दा उठान गर्दा कसाे हाेला ? नेपालले कालापानी नेपालकाे भूमि हाे भनेर चुच्चे नक्सा समेत जारी गरेपनि कार्यान्वयन नहुनु, राष्ट्रिय जनगणना २०७८ मा उक्त क्षेत्रकाे जनसंख्या नसमेटिनु विडम्बनाकाे कुरा हाे । उसाे त जनगणनामा समेटिएकाे भए पनि साे क्षेत्रमा बसाेबास गरिरहेका जनता भारतकाे नुन खाइरहेका छन् । शिक्षा, स्वास्थ्य, यातायात, राेजगारी लगायतका आधारभूत कुराहरू दशकाैंदेखि भारतले उपलब्ध गराउँदै आएकाे छ । नागरिकहरूले रासन कार्ड लगायतका सेवासुविधा उपभाेग गरिरहेका छन् । तिनले आफूलाई नेपाली भन्न मन पराउलान कि भारतीय भन्न ? यदि साँच्चिकै कालापानी क्षेत्र नेपालकै हाे भनेर नेताहरू ठुल्ठुला मसिना चिप्ला कुरा तथा भाषण गर्छन् भने बार्षिक वजेटमा कालापानीकाे लागि कुन कुन शीर्षकमा के कति वजेट विनियाेजन गरिन्छ ? राज्यले शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास जस्ता अत्यावश्यकीय कुराहरूकाे लागि के कस्ताे तयारी गरेकाे छ ? हाेइन सस्ताे लाेकप्रियताकै लागि हाे भने मेराे भन्नु केही छैन । अब हामी सबै नेपालीहरू मिलेर सिक्किमकाे पनि मुद्दा उठान गराैं । यस्ता मुद्दा उठान गर्दा राजनीतिक उचाइ भने पक्कै पनि प्राप्त गर्न सकिन्छ । मेराे खाेज, अध्ययन र जानकारीका आधारमा कालापानी सम्बन्धी छाेटाे परिचय संप्रेषण गर्न मन लागेकाे छ ।
लिम्पियाधुरा नेपालको पश्चिमोत्तर क्षेत्रको अन्तिम सिमाना विन्दु हो, जहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । महाकालीका मुख्य नदीहरुमध्ये काली नदी (कुटी याङ्दी) लिम्पियाधुराबाटै उत्पत्ति हुन्छ । सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनी बीच भएको सुगौली सन्धिले नेपालको पश्चिम सीमा महाकाली नदीलाई बनाएको छ ।
नेपाल अङ्ग्रेज युद्ध पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी र नेपाल बीच सुगौली सन्धि गरियो । यस सन्धिमा भनिएको छ : “आज देखि नेपालको राजा, उनको उत्तराधिकारी वा उनको सन्ततिले काली नदी भन्दा पश्चिममा रहेका मुलुकहरु वा त्यहाँका नागरिकहरूसँग कुनै सम्बन्ध राख्ने छैनन्” । यस प्रकार काली नदी भन्दा पश्चिममा रहेको सबै भू -भाग नेपालले गुमाउनु पर्यो र काली नदीलाई नेपालको पश्चिमी सिमाना मानियो ।
काली नदी व्याँस उपत्यकाको बीच भाग हुँदै बग्ने नदी हो जुन क्षेत्र त्यति बेला व्यास “परगना” भनेर चिनिन्थ्यो। १८१६ पछि काली नदी भन्दा पूर्वको भाग नेपाललाई दिइए पछि काली नदी पारी रहेको जमिनदारले अङ्ग्रेज सचिवलाई चिट्ठी लेखेर वारि रहेको आफ्नो जमिनमा रहेको गाउँलाई ब्रिटिश इस्ट इण्डियाकाे अधीन राख्न अनुरोध गर्यो । पत्रको जवाफमा सचिवले सुगौली सन्धि अनुसार त्यो जमीन नेपाल सरकारको भएकोले त्यो जमीन नेपाललाई जिम्मा लगाउने प्रक्रिया थालौं भनेर जवाफ पठायो । तर भारतले १९५० को दशकमा तिल्सी क्षेत्रमा आफ्नो सुरक्षा फौज तैनाथ गरी त्यही ठाउँलाई कालापानी नाम दिई महाकालीको उत्पत्तिस्थलका रूपमा समेत त्यहीँको एउटा सानो खोल्सालाई देखाउँदै आएको छ । वास्तविक महाकालीलाई कुटी याङ्दी भनी पछिल्ला भारतीय नक्साहरूमा उल्लेख गरिएको पाइन्छ । यसले ४०० बर्ग किलोमिटरको विवादित क्षेत्र ओगटेको छ । जुन क्षेत्र ललितपुर जिल्लाकाे क्षेत्र भन्दा पनि केही बढी छ । भारतले आफूले ओगटेको ७० वर्ष भइसकेकाले त्यस क्षेत्रलाई आफ्नो नक्साभित्र राख्नु स्वाभाविक अधिकार भएको दावी गरेको छ ।
सुगौली सन्धिले भने अनुसार नेपाल र भारतको पश्चिमी सिमाना कुनै नदी हुनु पर्छ तर काली नदीको पूर्वी क्षेत्रलाई भारतले आफ्नो भन्दै नेपाल र भारतको सीमा कालापानी उपत्यकाको डाँडा (लिपु धुरा हिमाल) लाई निर्धारित गरेको छ । सन १८५० भन्दा पहिलाका नक्साहरूले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरासम्म देखाई रहेको छ । सन १८५० पछिका नक्साहरूले नेपालको सिमाना लिपुलेक वा लिपुधुरा देखाई रहेको छ । सन १९२४ तिर प्रकाशित भएका नक्साहरूले पुरै कालापानी क्षेत्र भारतमा भएको देखाएको छ । नेपालको पुराना नक्साहरूमा कालापानी क्षेत्र नदेखाउनु दुर्भाग्यपूर्ण गल्ती भएको मानिन्छ । १९६१ इ.पू. मा नेपाल-चीन सीमा सम्झौता गर्दा सीमा रेखा (स्तंभ न ० १) लिपुधुरा हिमालको डाँडा देखि सुरू गर्नु ठूलो गल्ती हाे ।
दार्चुलाको महाकाली किनारै किनार भारतले ठूलो लगानी गरेर सडक बाटो बनाएको छ । कतै नागबेली त कतै सिधा सडक निर्माण भएको छ । उसले सन् २००८ देखि नै सडक बनाउन थालेको थियो । उसको चीनसँगको यो मुख्य व्यापारिक मार्ग बनाउने कसरत जारी छ । यो मार्ग चीनसँग जोड्ने सबैभन्दा उत्तम नाकाकाे रुपमा रहेकाे छ । भारतले तीनै क्षेत्रलाई आफ्नो नक्सामा पारेर राजनीतिक नक्सा सार्वजनिक गरेको छ । केही समय अघि गुञ्जा, कालापानी हुँदै लिपुभञ्ज्याङ सम्मै सडक निर्माण गरेर उद्घाटन गरेपछि विवाद पुनः बल्झिएको थियाे । अहिले प्रधानमन्त्रीकाे भारत भ्रमणकाे पूर्वसन्ध्यामा फेरि वाक युद्ध चर्केकाे छ । दार्चुलाको सीमा क्षेत्रमा अहिले भारतको एसएसवी बल र इन्डो–तिब्बतीयन बोर्डर पुलिस फोर्स तैनाथ छ । सीमा क्षेत्रमा उनीहरुको चहलपहल बाक्लो छ । फोर्सका हेलिकप्टर दार्चुलाको सदरमुकाम आसपास भएर महाकाली नदी किनारै किनार दैनिक ८-१० पटकभन्दा बढी ओहोरदोहोर गर्दै आएको छ । स्थानीय वासीलाई जहाज र हेलिकप्टरले हवाई प्रदूषण समेत गराउँदै आएको छ । उसले त्यहाँको सडक निर्माण सामग्रीसमेत हवाईमार्गबाटै लाने गरेको छ ।
नेपालको सीमा क्षेत्रमा भने सुरक्षाकर्मीको उपस्थिति त परैको कुरा स्थानीय नागरिकको उपस्थिति समेत कमजोर छ । वर्षमा ६ महिना हिउँपर्ने भएकाले सबै बेँसीतिर झर्छन् । त्यसपछि नेपालको भू-भाग बेवारिसे जस्तै हुन्छ । त्यही शून्यताको फाइदा उठाएर भारतले अतिक्रमण गर्न सफल भएको हाे भन्दा फरक नपर्ला । छाङ्रुमा बस्ती नभएको भए त्यो क्षेत्रसमेत अतिक्रमण गरेर सीमा नाका तिङ्करसम्म ल्याउन सक्थ्यो भारतले । छाङ्रुमा ११५ परिवारको बसोबास रहेकाले सो क्षेत्र सुरक्षित छ । द्वन्द्वकालअघि दार्चुलाको छाङ्रुसँग जोडिएको सीमा नाका सीतापुल नजिकै प्रहरी चौकी थियो रे !शान्ति स्थापनापछि यहाँको नीतिकुण्डामा प्रहरी चौकी छ । चौकी पनि ६ महिनामात्रै बस्छ । त्यहाँको नेपाली प्रहरी ६ महिना तल आएर बस्ने गरेको छ । छाङ्रु जिल्ला सदरमुकाम दार्चुलाबाट पैदल जान पाँच दिन लाग्छ । दार्चुला सदरमुकाम खलङ्गाबाट ९६ किलोमिटर दूरीमा कालापानी पर्छ । यहाँ जान गोरेटोबाटो राम्रो छैन । भारतको सडकमार्ग प्रयोग गर्नुपर्छ ।
मुख्यगरी भारतले अतिक्रमण गरेको क्षेत्र छाङरुबाट १० किलोमिटर पर गुञ्जी दोभान हो भन्दछन् स्थानीयहरू अहिले पनि । त्यो दोभानमा लिम्पियाधुराबाट आएको महाकाली नदी र लिपुलेकबाट कालापानी हुँदै आएको लिपु खोला मिसिन्छ । त्यही लिपुखोला (कालापानी नजिकको मूल) लाई काली नाम दिएर भारतले त्यसबीचको समग्र भू-भागलाई अतिक्रमण गरेको हो । यद्यपि तथ्य र प्रमाणले लिम्पियाधुराबाट आउने काली नदी नै सिमाना हो भन्ने कुरा सुगौलीसन्धि पछिको तथ्य र प्रमाणले देखाउँछ । यसअघि सरकारको दरिलाे प्रयास हुन नसक्दा समस्या बल्झिएको मेराे बुझाइ छ ।
कालापानी क्षेत्र भारतले पटकपटक आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै आइरहेको छ । भारतको अनुसार कालापानी उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको एक गाउँको रुपमा रहेको उल्लेख छ । सन् १८१६ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिले तय गरेको नेपाल र भारतबीचको सिमाना छुट्याउने नदीको नाम महाकाली नदी हो । जसको उद्गम स्थल लिम्पियाधुरामा पर्छ । तर भारतले सो महाकाली नदीलाई लिम्पियाधुराको मुहान मान्न चाहेको छैन । त्यसैले नेपाल र भारतबीच सीमा विवाद देखिन गएको छ । नाभीका बासिन्दालाई भारतीय रासन कार्डलगायत सबै सुविधा दिएको कुरो सुनिन्छ ।
सन् १९६२ को चीन–भारत युद्धका बेला आफ्नो क्षेत्र जोगाउन भारतले नेपालको अनुमतिमा सेना राखेको बताइन्छ । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको समयमा १७ स्थानमा सेनाको चौकी राखिएको सीमाविद्को भनाइ छ । चौकी लिपुलेकबाट १० किलोमिटर वर तिङ्करसम्म ल्याइएको थियो । पछि १९७० ताका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले १५ वटा चौकी हटाउन सफल भएपछि तिङ्करको चौकी कालापानीमा गएर बसेको थियाे । नेपालले पनि विसं २०२९ देखि २०३१ सम्म कालापानीमा भारतीयको गतिविधि नियाल्न दार्चुलाको तिङ्करमा प्रहरी चौकी निर्माण गरेको थियो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराकाे बारेमा बुझ्न तथा थप जानकारी लिनकाे लागि सुगाैली सन्धिकाे बारेमा विस्तृत जानकारी हुनु पनि जरुरी छ । त्यसैले यस लेखमा सुगाैली सन्धि भनेकाे के हाे ? कहिले सन्धि भएकाे हाे, सन्धिमा नेपाल भारत पक्षबाट काे काे थिए ? कुन ठाउँमा सन्धि भएकाे थियाे ? आदि कुरा समेटेर सुगाैली सन्धिकाे बारेमा उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
सुगाैली सन्धि :
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो । यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए ।
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौँमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालिम दिने काममा लगाइन्थ्यो । यस सन्धिमा एक तिहाई भू-भाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत दार्जिलिङ सिक्किमको क्षेत्र पनि पर्दछ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाञ्चल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँ मुलुक भनिन्छ । नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए । उनी उत्तर काठमाडौँको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन् । सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो । भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हाे । तर भारतले ७०/७५ बर्षदेखि कब्जा जमाउँदै आएकाे उक्त भूमि नेपाललाई सहजै फिर्ता गर्ला भन्ने कुरामा शंका छ । अर्काे कुरा उक्त क्षेत्रमा बसाेबास गर्ने जनसमुदायले सम्पूर्ण सेवा सुविधा भारतबाट नै उपभाेग गरिरहेकाे अवस्थामा ति नागरिकहरू आफूलाई नेपाली भन्न मन पराउलान कि भारतीय भन्न ! नेपालले भूमि आफ्नाे भनेर दाबी गरि रहँदा ति नागरिकहरूकाे बसाेबासकाे बन्दाेबस्त कुन देशले मिलाउँछ ? तर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हाे । सुगाैली सन्धि लगायतका सन्धि सम्झाैतामा पनि नेपाल भारतकाे पश्चिमाेत्तर सिमाना बारेमा स्पष्ट उल्लेख गरिएकाे छ ।
सुगौली सन्धि र जारी नक्शाहरूले भन्छ: लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो । अहिलेको विशाल भारत नै नबनेका वेला, २०४ वर्षअघि ब्रिटिश इण्डिया र नेपालबीच भएको सुगौली सन्धि र जारी नक्शाहरूका आधारमा प्रष्ट भन्न सकिन्छ–कालापानी मात्र होइन, लिपुलेक र लिम्पियाधुरा समेत नेपाली भूमि हो।
ऐतिहासिक तथ्य, प्रमाण र आधारहरूले नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुराबाट निस्किने काली नदी हो भन्ने पुष्टि गर्दछन् । तर, समयक्रममा काली नदी वरको लिपु खोलालाई सीमा भनियो, अहिले त त्यसभन्दा पनि यताको सानो कृत्रिम खोल्सालाई नै नेपालको सीमा भन्दै नेपाली भूमि कालापानीमा भारतीय सेनाको फौज बसिरहेको छ । भारतले केही महिना अघि जारी राजनीतिक नक्शामा समेत आफ्नो सरह भित्र पारेको यही नेपाली भूमी भएर चीनको मानसरोवर जाने बाटो निर्माण गरेको छ ।
भारत र नेपालका सीमा सम्झाैतामध्ये सुगौली सन्धि सबैभन्दा महत्वपूर्ण छ । पूर्वमा टिष्टा, पश्चिममा काँगडा र दक्षिणमा गंगा मैदानसम्म फैलिएको नेपाललाई एक तिहाइमा खुम्च्याउने त्यही सन्धि थियो । सन् १८१५ मा हस्ताक्षर भई एक वर्षपछि लागू भएको सुगौली सन्धिपछि पनि पूर्व तथा दक्षिणमा नेपालले केही भूभाग प्राप्त गरेको थियो । सन् १९२० मा शारदा ब्यारेज निर्माण गर्दा केही जमीन आदान–प्रदान भएबाहेक पश्चिमी सीमा फेरबदल भएकै छैन । यस आधारमा सुगौली सन्धिले गरेको प्रबन्धबाहेक दुई देशबीच सीमाबारे कुनै अर्को सन्धि, सम्झाैता वा समझदारी गरिएको छैन ।
सुगौली सन्धिको धारा ५ मा नेपाल र भारतबीचको सीमा प्रष्ट निर्धारण गरिएको छ, भनिएकाे छ कि ‘नेपालका राजा आफ्नो, आफ्ना सन्तानको र उत्तराधिकारीहरूको काली नदीदेखि पश्चिमपट्टिको दावा परित्याग गर्दछन् र कहिल्यै पनि त्यस देशका र त्यहाँका नागरिकका बारेमा अब उप्रान्त सरोकार राख्ने छैनन् ।’ यसको अर्थ सन्धिले काली नदी नै नेपाल–भारतको सीमा भएको प्रष्ट हुन्छ । जुन जाेगी आएपनि कानै चिरेका भनेझै देशमा जुनसुकै व्यवस्था आएपनि र जाे सुकै प्रधानमन्त्री भएपनि जबसम्म देशकाे मूलकानुन परिवर्तन गरिदैन, नेताहरूमा सकारात्मक साेचकाे भावना पलाउदैन तबसम्म देशकाे विकासमा पूर्णविराम लागेकाे हुनेछ ।
माथि कालापानीकाे इतिहास जे जस्ताे छ त्यसलाई खाेतल्ने प्रयास भने जारी नै रहने छ । उक्त भूमि नेपालकै हाे भने एक दिन पक्कै नेपालीकाे हुनेछ । तर चुनाव र लाेकप्रियताकाेलागि मात्र कालापानीकाे मुद्दा उठाउँदा ती स्वार्थी हुतिहारा नेताहरूलाई पशुपतिनाथले अवश्यपनि श्राप्ने छ ।
अन्त्यमा केही सुझावहरू पेश गर्नु बाञ्छनीय देखिन्छ, जुन निम्न लिखित छन् :-
१. सम्माननीय प्रधानमन्त्रीकाे भारत भ्रमणकाे मुख्य एजेन्डा सिमा विवाद समाधानमा केन्द्रित हुनु पर्ने ,
२. जानकार सिमाविदहरूलाई पनि भ्रमण टाेलीमा समावेश गर्नु पर्ने,
३. नेपालसँग भएका आधिकारिक दस्तावेजहरू पेश गर्नु पर्ने
४. यदि कुनै हालतमा भारत सरकारले उक्त भूमि फिर्ता गर्न नमानेपछि उक्त क्षेत्रकाे दुईगुना भूमि (८०० किमि) कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, झापा, माेरङ लगायतका भारतसँग सिमा जाेडिएका तराईका कुनै पनि क्षेत्रमा उपलब्ध गराउनु पर्ने आदि ।
स्राेत सामग्री :
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास महेन्द्रनगर।
बडु, ईश्वरदत्त (२०७१), दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
पाण्डेय, बद्रीदत्त (२०१९), कुमाऊँ का इतिहास, भारत ।
भट्ट, काशीदत्त (२०४३), मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
लेखक :-मान सिंह धामी (औल्लेकी)
उप- प्रध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४
गाेठ्युडी (काेटबुङ्गा), दार्चुला उहाँ बिभिन्न विधामा कलम चलाउनु हुन्छ।
