सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलहरु मध्ये बैतडी जिल्लाको देहिमाण्डौँमा अवस्थित निङ्लाशैनी भगवतीको मन्दिर पनि एक हो । यस मन्दिरको स्थापना १२ औँ शताव्दी भन्दा पहिले नै भएको मानिन्छ । यस मन्दिरको स्थापनाका सन्दर्भमा एउटा चर्चित जनश्रुति तथा लोकश्रुति रहेको पाइन्छ । भारतकोको दुबानगरबाट बसाइ सरी आएका जनाबिचार भट्ट, चतुर बह्मा (चतु¥या बोरो), भुनी टेर, दासी हुड्के लगायतका विभिन्न व्यक्तिहरु परिवार सहित बसाइ सर्ने क्रममा वर्तमान नेपालको बैतडी जिल्लाका विभिन्न स्थानहरुमा आएर बसे ।
हालको दसरथचन्द नगरपालिकाको नौगेडी वन नजिक (हालको देहिमाण्डौँ) चतुरबह्माले आफ्नो परिवार बसाले भने गुरुखोला पालीमा जनाबिचार भट्ट र भुनिटेरको परिवार र स्याडीमा दासी हुड्केको परिवार बस्यो । दुवानगरमा बस्दा यी सबै परिवारहरु कूलदेवीका रुपमा भगवतीको पूजाआजा गर्दथे । बसाइ सरी बैतडीमा आइसकेपछि पनि देवीका मुख्य पर्वहरुमा पूजाका लागि यी सबै परिवारहरु यतैबाट पूजासामग्री लगेर कूलदेवीको पूजाका लागि दुवानगर जाने गर्दथे । केही समय बैतडीबाटै दुवानगर गएर देवी पूजालाई निरन्तरता दिए । भाद्र महिनामा शुक्ल त्रयोदशीदेखि पूर्णीमासम्म तीन दिन हुने देवीको मुख्य पूजाका लागि उल्लेखित परिवारमा मुख्य व्यक्तिहरु दुवानगर जान लागे । भाद्र महिनाको अविरल वर्षका कारण महाकाली नदीमा पानीको बहाव तीव्ररुपमा बढेपछि नदी तर्न नसकेर किनारमै बसिरहे । बर्षा रोकिएर महाकालीको पानी घट्ला र पारी तरौँला भन्ने आसमा पुरै दिन बित्यो, पनी घट्नुको साटो अविरल वर्षाका कारण महाकालीको बहाव झन् बढ्न थाल्यो । देवी पूजाका लागि जसरी पनि जानुपर्ने तर काली नदी तर्न नसकेपछि राती नदीकै किनार नजिकका ओडारहरुमा ओत लागेर बसिरहे । सबैले देवी पूजाका लागि पुग्न नसकिने अवस्थाप्रति दुःख व्यक्त गरिरहेका थिए ।
बरु महाकालीमै हाम फालेर मर्ने तर देवीको पूजा नगरी नफर्कने भन्ने जस्ता कुराकानी गर्दागर्दै निद्रा लागेपछि देवीले सपनामा दर्शन दिएर मेरो पूजाका लागि तिमीहरु यता नआउनु, म तिमीहरु बसेकै ठाउँमा आइसके, केही समयमा म दर्शन दिनेछु, तिमीहरु घर फर्क भनेछ । यति भइसकेपछि सबै पूजाको सामग्री सहित खुसी हुँदै घर फर्के । नौगेडी वन (हालको देहीमाण्डौँ) नजिक परिवार बसालेका चतुरबह्मा (चतुरबह्मा बोरो) को घरमा लावड जातिको ग्वालो थियो । ऊ सधैँ गाईगोरु लगेर नौगेडीको वनमा चराउँथ्यो । चतुरबह्माको घरमा सेतो कालो रङको कपुरा दुहुनु गाई थियो । गाईलाई लगेर ग्वालो सधैँ नौगेडी वनमा जान्थ्यो । वन जाने बेलामा उक्त गाईको कल्चौँठो दुधले भरिएको हुन्थ्यो भने घर आउने बेलामा कल्चौँठो रित्तो हुन्थ्यो । गाईको यो अवस्था देखेर चतुरबह्माकी श्रीमती अचम्म पर्दथिन । दैनिक यस्तै अवस्था देखेपछि चतुरबह्माकी श्रीमतीले ग्वालालाई बोलाएर भनिन्, हेर बिहान वन जाने बेलामा गाईको कल्चौँठो सधैँ दुधले भरिभराउ हुन्छ, साँझ घर आउने बेलामा कल्चौँठो रित्तो हुन्छ, गाईले बेलुका दुध पनि दिदैन, तिमीले वनमा गएर कतै गाई दुहेर दुध त खाँदैनौ भनेर ग्वालालाई झपार्न लागिन । आफूले वनमा कहिले पनि दुध दोएर नखाएको तर गाईको अवस्था हेर्दा उनले भनेजस्तै कल्चौँठो रित्तो हुने देखेर ग्वालो पनि छक्क प¥यो । दोस्रो दिन ग्वालाले आज त म यसको राज पत्ता नलगाइ छोड्दैन भन्ने अठोट लिएर ऊ गाई लगेर वनमा गयो र गाईबाट एक नजर पनि हटाएन ।
सदाझैँ गाई सरासर गएर नौगेडी वनमा रहेको निङलाको झेलमा गएर आफै दुहिन थाल्यो । यस्तो देखेपछि ग्वालो अचम्म पर्दै बल्ल राज पत्ता लाग्यो, अब घरमा गएर सबै कुरा बताउँछु भनी ऊ गाईलाई त्यसै ठाउँमा छोडी दगुरेर घर पुग्यो र हतारिदै चतुरबह्माकी श्रीमतीलाई गाई आफै दुहिएको राज बताउँदै आफ्नै आँखाले हेर्नु भनेर गाई दुहिनलागेको ठाउँमा लग्यो । साँच्चिकै गाई निङलाको झिलमा आफै दुहिदै थियो । यो देखेर चतुरबह्माकी श्रीमतीलाई रिस उठ्यो र उक्त झिलमा हँसिया प्रहार ग¥यो । हँसियाको प्रहारले गर्दा उक्त झिलबाट रगत बगेको देखियो । झिलबाट रगत बगेको देख्नासाथ ग्वालोले आफूले ओडेको वस्त्रले छोपिदियो । यो अचम्मको घटना देखेर ग्वालो र चतुरबह्माकी श्रीमती र ग्वालो छक्क परे र घर आएर चुतरेलाई सबै वृत्तान्त सुनायो । उक्त घटना कसरी घटेको भन्ने बारे छलफल चलेपछि यो ठाउँमा दुवानगरमा पुज्य हुँदै आएकी कुलदेवी आएको निष्कर्षमा पुगे र सबैजना मिलेर उक्त निङलाको झिलभित्र रहेको शीलालाई कुलदेवीका रुपमा पूजा गर्न सुरु गरे । निङलाको झिलमा मिलेको र त्यसैमा निवास गर्ने देवीका रुपमा त्यसै बेलादेखि निङ्लाशैनीका नामले पुकारिन थालियो । देवीलाई सबैभन्दा पहिले पाएको र हँसिया प्रहारपछि आफ्नो ओड्ने वस्त्रले छोपेको हुनाले लावड जातिको ग्वालोलाई निङ्लाशैनी भगवतीको प्रिय पात्रको रुपमा सम्मान गरिन्छ । चतुरबह्माकी श्रीमतीले झाङमा हँसिया प्रहार गरेको घटनाको किवदन्ति अनुसार हालसम्म पनि देहिमाण्डौँबासी बोहराहरुकी श्रीमतीहरुलाई उक्त मन्दिरको टिका प्रसाद ग्रहण गर्न समेत ब्रजित रहेको छ ।
यस्तो घटना घटिसकेपछि चतुरबह्माले देवीसँग क्षमायाचना गर्दै कौडिण्य गोत्रीय जनाबिचार भट्ट लगायत आफ्ना सहयात्रीहरुलाई बोलाएर छलफल गरी दुवानगरबाटै आएकी कूलदेवीका रुपमा उक्त निङालोको झिलमा रहेको शीलामा हरेक सङ्क्रान्ति, पूर्णीमा र देवीका मुख्य पर्वहरुमा पूजा अर्चना सुरु गरियो । जनाबिचार भट्ट पूजारी र आफू मुखिया र अन्य व्यक्तिहरुलाई फरक फरक भूमिकामा राखेर देवी पूजालाई निरन्तरता दिन थालियो । यसरी सर्व शक्तिमान देवीका रुपमा स्वराडदेखि कुमायूसम्मको सीमाभित्रका मान्छेहरुले विभिन्न भूमिकामा रहेर पूजा अर्चना गर्न थालिएको यस क्षेत्रका पुरानो पुस्ताका मानिसहरुले बताउँछन् । यतिमात्रै नभएर यस मन्दिरमा गौरा तथा जात्रमा गाइने गाथाहरुमा पनि यस मन्दिरको बारेमा वर्णन हुँदै आएको पाइन्छ । उदाहरणको लागि गौरा तथा जात्रहरुमा गाइने भग्गालिङ्ग लयको गाथामा गाईले निङालोको झिलमा दुहिएको र देवी मिलेको प्रसङ्ग यसरी आउँछ :
ए तिख्या पिपल भग्गालिङ्ग
मेर गाई धेकिथेइ भग्गालिङ्ग …..
वन झानि गाईका भाग्गालिङ्ग
केलाकोसी थुन भाग्गालिङ्ग
घर औनि गाईका भाग्गालिङ्ग
खोसमड़ा थुनु भाग्गालिङ्ग ….
त्यसै गरी निङ्लाशैनी भगवतीको इतिहाससँग जोडिने अठौति मल्ल र खोप¥या दैत्यको प्रसङ्ग भएका कथा र त्यसैसँग सम्बन्धित गाथाहरु पनि डोट्याली लोकसाहित्य एवम् समुदायमा प्रचलित रहेको छ । एक समयमा एकदमै बलिया अठौति मल्ल र खोप¥या दैत्यले मलासदेखि वर्तमान भारतको उत्तराखण्ड हुँदै बैतडी सम्मका देवीदेवताहरुसँग युद्ध गरेको र बैतडीमा पुगेपछि यस क्षेत्रका देवीदेवताहरुसँग युद्धमा पराजित भएर मरेको प्रसङ्ग पनि यस क्षेत्रमा गाइने गाथाहरुमा आउने गर्दछ । अठौती र खोप¥या मलासदेखि झुलाघाटसम्म पुग्दा देवताहरुसँग युद्ध गर्दै उनीहरुलाई पराजित गरेको र झुलाघाट पुगेपछि नदी तराउने मान्छेलाई अब म बैतडीमा जान चाहान्छु र त्यहाका देवीदेवताहरुसँग युद्ध गर्छु भन्ने मनाशय गर्दा नदी तराउने मान्छेले त्यस ठाउँमा तिमी युद्ध गर्न नजाउ त्यस क्षेत्रमा ठूलाठूला शक्तिवान देवीदेवताहरु देवीदेवताहरु रहेको र युद्धमा तिम पराजित हुनेछौ भनेको प्रसङ्ग लोक गाथाहरुमा यसरी आउँछ :
जनचलइ अठौति स्वराड गड
बडाबडा देउछन् स्वराडगड
यति भनेको नमानेपछि अठौतिले बैतडी क्षेत्रका देवीदेवताहरुसँग युद्धका लागि आफू आएको समाचार पठाउँछन् । अठौति र खोप¥या कालीपारीका सबै देवताहरुलाई जितेर आफूसँग लड्न आएको समाचार बैतडी क्षेत्रका देवताहरुले सुनेपछि रैण्याशैनी भगवती (त्रिपुरासुन्दरी) दिदी निङ्लाशैनीकहाँ आएर सल्लाह गरेको प्रसङ्ग अठौति मल्लको गाथामा यसरी आउँछ :
दिदी निङलाशैनी मेरो बोल लेन
बलियाकि साङी आइछ पिठी आडो देन …….
तोखिलेखा बलियो छ मुखिलेखा केइन ….
झल्यामल्या गावडि़को बेल्या भरी घिउँ
एइ मेरी स्वराड छुन न दिउँ ….
यसरी रैण्याशैनी र निङ्लाशैनीले सल्लाह गरेपछि यस बैतडी र स्वराड क्षेत्रका सम्पूर्ण देवीदेवताहरुलाई बोलाएर बैतडीको झौलेकमा असमीकेदार (सस्या) देवताको नेतृत्वमा सभा बसालेर अठौतिलाई कसरी मार्ने भन्ने विषयमा छलफल गरिएको प्रसङ्ग गाथाहरु यसरी आउँछ :
खेड़्यामेड़्या कटकको झौलेक ठाउँ ….
सैपाल सुरपाल सस्याका बाग
सैपाल सुरपाल लडाकु पुरा
खोप¥या मा¥यो सल्म्या धुरा ……
यसरी सबै देवी देवताहरुले छलफल गरी अठौति र खोप¥यासँग युद्ध गरेको र अठौतिलाई निङ्लाशैनीको गैरचारी (रणक्षेत्र÷युद्ध मैदान) मा दबाएको र खोप¥यालाई सैपार सुरपाल आदि देवताहरुले सुर्काकालमा हालको असमीकेदार मन्दिरकोे माथि सल्म्या धुराको ओडारमा छिराएर मारेको लोकगाथा र किंवदन्ति रहेको छ । यसरी अठौति र खोप¥यासँगको युद्धमा महत्वपूर्ण भूमिका खेलेको हुनाले ग्वाल्लेक केदारले निङ्लाशैनीलाई बहिनीको रुपमा मान्दै द्यारका वृक्षहरु उपहार दिएको हुनाले ग्वाल्लेकको जङ्गलमा द्यारका रुखहरु अहिलेसम्म पनि पाइदैनन् ।
यसै गरी निङ्लाशैनीसँग जोडिएको अर्को महत्वपूर्ण गाथामा अजयमेरुकोट डोटी राज्यका राजा नागी मल्लले आफ्नो राज्यभित्रका देवताहरुको शक्ति परीक्षण गर्दै शक्ति नभएका देवता मन्दिरहरु भत्काउने र शक्तिवान देवताहरुलाई चिनोबानो दिने गरेको किंवदन्ति र गाथा पनि डोट्याली लोकसमुदायमा रहेको छ । देवताहरुको शक्ति परीक्षणका क्रममा राजा नागी मल्ल बैतडी देहिमाण्डौँमा रहेको निङ्लाशैनी मन्दिरमा गएर देवीको बारेमा सोधपुछ गरेको र यदि सर्वशक्तिवान देवी भए मैललै भनेको गरोस भन्दा राजाले भनेबमोजिमको चमत्कार भएपछि एउटा ठूलो घण्टी मन्दिरमा चढाएर गएको र उक्त घण्टी अझै पनि देवीको मन्दिरमा सुरक्षित रहेको छ । देवीको मुख्य पूजा लाग्ने बेलामा उक्त घन्टी बजाइने गरिन्छ । डोटीका राजा नागी मल्ले देवीको बारेमा सोधेको र यदि सर्वशक्तिवान देवी भए मन्दिरमा रहेको निङालो, गडुवा, भोक तथा मान्छे आफै कम्पन होस भन्दा त्यही अनुरुप भएको प्रसङ्ग देवीको मन्दिरमा गाइने गाथामा यसरी आउँछ :
डोटी अजयमेरु साइ राज माता पुछन लाग्या बात…..
ततनी छै त निङलाडि़ दुर्गा निङलोइ कामी झान
औतरि गैन निङलाडि दुर्गा निङलोइ कामी गैछ ….
यस क्षेत्रमा हालको निङ्लाशैनी मन्दिर नजिकै देउडुङरी मा केदार देवता रहेको र देवी आएपछि वलि हुन थालेपछि केदार देवता त्यो ठाउँ छोडेर दसरथचन्द नगरपालिकाकै जर्गमा गएको पुरानो पुस्ताले बताउँछन् । देहिमाण्डौँमा हाल पनि जर्गको माथिल्लो डाँडामा केदार छिरेको गुफा भनेर प्रसिद्ध छ । अझै पनि देवीको शवारी हुँदा देवीले देवीले देउडुङरीमा गएर केदार देवताको दर्शन गर्नेकुरा बुढापाखाहरुले बताउँछन् । देवीको चलो (सवारी) जाँदा देवीको धामी कामेर केदार देवताको दर्शन आराधना गर्ने गर्दछ ।
आजभन्दा करिब १५० वर्ष अगाडि तल्लोस्वराड़को मेलौली क्षेत्रमा महामारी चलेको र उक्त महामारी रोक्नका लागि मेलौली निवासी एकजना नायक थरका मान्छे निङ्लाशैनीमा आएका र धामी कमाएर उक्त महामारी हटाउनका लागि बिन्ति प्राथना गर्दा धामी कामेर महामारी रोक्ने वचन दिएको र देवीले भनेबमोजिम महामारी रोकिएकाले निङ्लाशैनीमा वलिका लागि राँगो ल्याउदै गर्दा मेलौली भगवतीले राँगो आफ्नो मन्दिरको थलोमा पुग्नेबित्तिकै त्यही रोकेको र राँगो कुनै हालतमा पनि निङ्लाशैनीमा ल्याउन नसक्दा नायक थरका मान्छे निङ्लाशैनीमा आएर राँगो ल्याउन सकेन के गरौँ भनी धामीलाई सोधपुछ गरी देवीसँग विन्ति गर्दा बैनीले चारखुट्या रोक्यो मुइ दोखुट्या रोक्कौ भनेर नायकलाई त्यसै ठाउँमा रोकेको र त्यो दिन देखि देवी त्यसैमा सवार भएको हुँदा नायक देवीको मुख्य कर्मचारी धामीका रुपमा त्यसै ठाउँमा बसेको पाइन्छ र उक्त परिवार हाल देहिमाण्डौँको रेला भन्ने ठाउँमा बसोबास गर्दछन् । मेलौली भगवतीको मन्दिर प्राङ्गण धेरै ठूलो रहेको र उक्त समयमा निङ्लाशैनीको शक्ति र चहलपहलका कारण मेलौली भगवतीले दिदीजसी चौल, मेरी जसी थल भन्ने भन्छिन् भन्ने किंवदन्ति तथा उखान पनि बुढापाखाहरुले सुनाउँछन् ।
यस मन्दिरमा हरेक सङ्क्रान्ति र पूर्णीमामा पूजा लाग्ने गर्दछ भने वर्षमा चार महत्वपूर्ण मेला लाग्ने गर्दछन् । श्रावण र माघ महिनामा देवीको नित्य अभिशेष पनि हुने गर्दछ । यस मन्दिरका प्रमुख मेलाहरुमा पितृपक्ष सुरु हुनुअघिको भाद्र शुक्ल द्वादशीदेखि पूर्णिमा सम्मको चारदिने मेला जसलाई तेरत्याकि जाँत, नानी जाँत, ठूलिजाँत र पनिउँकी जाँत, असोजको नवरात्री घटस्थापनादेखि विजयादशमीसम्म, मंसिर शुक्ल पूर्णिमा लाग्ने जमानी जाँत र चैत्र महिनाको नवरात्रा अष्टमी जाँत महत्वपूर्ण हुन् ।
भाद्र महिनाको चारदिने जाँतमा बैतडी क्षेत्र र स्वराड़ क्षेत्रका चन्द राजाहरुले चतुर्दशीको ठूलिजाँतमा बाँजागाँजा सहित जात्रा ल्याउने र देवीको दर्शन गर्ने गर्दछन् । पहिले पहिले बैतडीको जोशीबुङाबाट पनि जोशी र पन्तहरुले पनि जात्रा ल्याउने गर्दथे । मन्दिरमा जात्रा घुमाउने सन्दर्भमा भएको वादविवादका कारण देवी र केदार देवताको धामी कामेर जात्रा रोकेको बुढापाखाहरुले बताउँछन । असोजको महाअष्ठमी र चैत्राष्ठमीका दिन यस मन्दिरमा राँगा र बोकाको वलि हुने गर्दछ भने मंसिर पूर्णिमामा हुने जमानी जात्रमा भने वलि हुने गर्दैन । यस मन्दिरमा वलि हुने दिनमा यस क्षेत्रका अन्य शीवालयहरु बन्द रहने र त्यो दिन ती मन्दिरहरुमा पूजा लाग्दैन ।
यस मन्दिरको मुख्य व्यक्तिका रुपमा देहिमाण्डौँ बासी चतुरबह्माका सन्ताहरु रहेका छन् । देवीले यस क्षेत्रको न्यायनिशाफका लागि रजबारको पदवी प्रदान गरेको र हाण्णी लौडि़ बाद्दी डोरी सुम्पेकाले बोहराहरुलाई रजबारको रुपमा सम्मान गरिन्छ । देवीको मन्दिरमा पूजाका कर्ममा कालोखाममा बसेर मुख्य कर्ताका रुपमा पूजा गर्ने र देवीको पहिलो टिका रजबारका रुपमा रजबार मुखियालाई लाग्ने गर्दछ । देवीका प्रथम पूजारीका रुपमा जनाबिचार भट्टका सन्तानहरुले पूजा लाउँदै आइरहेको पाइन्छ । त्यसै गरी बोग्गाउ सुतेगाड निवासी भट्ट र अराली निवाशी जोशी गरी चार पूजारीहरुले यस मन्दिरमा पूजा लाउने गर्दछन् । निङ्लाशैनी भगवतीलाई जगत जननीको रुपमा हरेक क्षेत्रका मानिसहरुले पूजा अर्चना गर्ने गर्दछन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण देहिमाण्डौँमा रहेको यो भव्य र पवित्र धार्मिक स्थलमा टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् । विशेष गरी भारतको पिथौरागढ देखि सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिसहरु यस मन्दिरमा आएर पूजा अर्चना गर्ने गर्दछन् । चारैतिर पहाड बीचमा सम्म परेको स्थानमा देविको प्राचीन मन्दिर, मन्दिरको दक्षिणपट्टी ठूलो मैदान मन्दिरको अगाडि हिङलोले उक्त ठाउँलाई अझ सुन्दर पारेको छ । मन्दिरमा रहेका प्रचीन, धार्मिक तथा ऐतिहासिक महत्वका थुप्रै चिजवस्तुहरु रहेका छन् । प्राचीन शिलालेख, ताम्रपत्र, प्राचीन मुर्तिहरु, प्रचीन तथा वर्तमानमा चढाएका घन्ट लगायत विभिन्न किसिमका प्रचीन बाँजागाजा तथा देवीका परम्परागत गरगहना र भाँडाकुडाहरु रहेको यो मन्दिर सुदूरपश्चिमकै नभएर नेपालकै एक महत्वपूर्ण मन्दिरको रुपमा रहेको छ । यस्तो प्रचीन महत्व बोकेको निङ्लाशैनी मन्दिर धार्मिक तथा अन्य पर्यटनका लागि एक महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ । यसको संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार कार्य राज्य तथा हामी सबैको साँझा कर्तव्य हो ।
लेखक:- कविराज भट्ट दशरथचन्द नगरपालिका २ देहिमाण्डौ बैतडी
