उधारो खाएर जानेलाई के थाहा पसलको पीडा
पसलको ढोका बिहानै खुल्छ,
सपना बोकेर पसले मुस्कुराउँछ,
स्टक गन्ने काम सुरु हुन्छ,
कसैले चिया माग्छ, कसैले चिनी, कसैले नुन,
कसैले भन्छ– “भोलि तिरिन्छ नि, आज उधारो देऊ न।”
उधारो दिनु भनेको
सपना काटेर अर्कोको झोलामा हालिदिनु हो,
नगद नपाएर पसलेको मुटु भित्रै कुँडिन्छ,
तर पनि उसले मुस्कान लुकाउँछ,
ग्राहकलाई ‘होस्’ भन्ने शब्द मात्रै बाँड्छ।
ग्राहकको घरमा
साँझको भात पाक्छ,
उधारोको चामलले भाँडो भरिन्छ,
तर पसलेको घरमा
सपना सुक्खा हुन्छ,
ताकमा सजिएको किताबमा
रातभरि उधारोको खाता रुँदै बस्छ।
पसलमा झुन्डिएको बत्ती
जति टल्किए पनि
बिलको बोझ अँध्यारो बनाइदिन्छ,
उधारो तिर्न नसक्ने मान्छेका कथा
कानमा बजिरहन्छ—
“अहिलेलाई छैन दाजु, अर्को महिनामा पक्का।”
कसैलाई थाहा छैन
पसल चलाउन कस्तो संघर्ष चाहिन्छ,
कसरी नगद जोहो गरेर
फेरि नयाँ माल भर्नुपर्छ,
तर उधारो खाएर हिँड्नेले
कहिल्यै सोच्दैन—
“यो पसल नफर्के
भोलि मलाई चामल कहाँ पाइन्छ?”
उधारो दिनु भनेको
नदीमा बाँध हालेर पानी रोक्ने प्रयासजस्तो हो,
तर बाढी आउँछ र
सबै सपनालाई बगाएर लैजान्छ।
पसलमा उधारो बढ्दै जाँदा
पसलेको आत्मा झन्-झन् थाक्छ,
उधारो माग्ने हात
आश्वासनले भरिन्छ, तर नगद कहिल्यै आउँदैन।
मान्छे भन्छन्—
“पसले त धनी हुन्छ, पैसा मात्र कमाउँछ।”
तर कसले देख्छ
रातभरि लेखिएको हिसाबकिताब?
कसले बुझ्छ
बालबालिकालाई स्कुल पठाउन नसकेको पीडा?
कसले महसुस गर्छ
घरभाडा तिर्न नसक्दा पसलेको अनुहारमा देखिने चिन्ता?
उधारो खाएर जानेलाई के थाहा पसलको पीडा!
लेखक : नवीन सिंह धामी