म विद्यार्थी मार्ने देशको नागरिक हुँ

निर्मला बम

“म विद्यार्थी मार्ने देशको नागरिक हुँ “
हो, यही परिचय च्यापिएको छ मेरो निधारमा,
रातो अक्षरमा लेखिएको,
रगतले, आँसुले, र कुर्सी बचाउने मौनताले।

विद्यालय —
जहाँ कुनै समय कलमहरू रोपिन्थे,
आज त्यहाँ बन्दूक उब्जिन्छ,
कविता होइन, क्रन्दन सुनिन्छ,
शिक्षा होइन, मृत्यु बाँडिन्छ,
र कुर्सीमा बसेकाहरू…
कागजमा नीतिहरू लेख्छन्,
तर ती नीतिहरूलाई रक्तदाग लागिसकेको छ —
अनगिन्ती सपनाहरूको रगतले।

हामी बालबालिका हरुको अब अध्यायहरू सम्झँदैनन्,
उनीहरूले याद गर्छन् —
“कस्तो आवाजमा लुकेर बाँचिन्छ” भन्ने पाठ।
यो कुनै युद्ध क्षेत्र होइन,
तर विद्यालयहरूमा छ ‘वार-जोन’ सरी त्रास।
शिक्षकहरू अब पाठ होइन,
‘पलायन विधि’ सिकाउँछन्।

सत्ता —
शब्दहरू बोल्छ,
तर काम नगर्ने र यथास्थिति पाल्ने प्रथा बनिसकेको छ।
‘हाम्रो प्रार्थना तपाईँहरूसँग छ’, भन्छ —
तर कानुन बनाउने हातहरू,
पुँजीपतिहरूको चन्दा गन्दै व्यस्त छन्।
कुनै बन्दुक राख्ने अधिकारको समर्थन गर्ने र सरकारको दबाबमा खुशी छ,
र शिक्षालयहरूमा सन्त्रास उब्जिरहेको छ।

बजारमा तातिएको छ हतियारको व्यापार,
शिक्षा मन्त्रालयभन्दा धेरै फण्ड
चाहिन्छ सुरक्षा कम्पनीलाई।
“स्कुल सुरक्षित बनाऔँ” भन्छन् —
तर त्यो सुरक्षा कवच होइन,
आफ्नो लाचारी ढाक्ने चाउरिएको वाक्य हो।

म नागरिक हुँ —
त्यो देशको, जहाँ भविष्यको मूल्य
भोट बैंकभन्दा कम छ।
जहाँ कलम खरिद गर्न नसक्ने हातले
बन्दूक किन्ने सजिलो छ।
जहाँ नेता भन्छन् —
“हामी सक्दैनौं बन्दूक बन्द गर्न”,
तर शिक्षक, अभिभावक, र बालबालिका —
भोलिको सास थामेर बाँच्नुपर्छ।

शिक्षालयहरू —
आज प्रयोगशाला बनेका छन्
राजनीतिक उदासीनताको,
र कुर्सी जोगाउने चालको।

कुनै भाषणमा “जनताको शिक्षा हाम्रो प्राथमिकता हो” भन्छ,
तर बजेटको पाना पल्टाउँदा —
तिनका प्राथमिकता धुँवा, बारुद, र प्रतिरोध टार्ने कुशलतामा सीमित देखिन्छ।

म त्यो देशको नागरिक हुँ —
जहाँ नारा बनाइन्छ: “विद्या नै शक्ति हो”,
तर शक्तिवानहरूलाई
विद्या फैलिनु मन पर्दैन।
उनीहरू डराउँछन् —
कलमले प्रश्न गर्ला भनेर,
तथ्यले भण्डाफोर गर्ला भनेर,
विद्यार्थीले बोल्ला भनेर।

त्यसैले, उनीहरू चुप राख्न चाहन्छन् —
धेरै चुप,
सधैंको लागि चुप।

तर अब म चुप रहने छैन।
कलमलाई चिहान बनाउने नियतलाई चिरफार गर्छु।
सपना टुक्र्याउने हरामिहरूलाई
कविताको बारुदमा घेरछेक गर्छु।

म प्रश्न गर्छु —
कहाँ छ त्यो लोकतन्त्र?
जहाँ नागरिकको जीवनभन्दा
पुँजीको दबाब ठूलो हुन्छ?
कसरी सजाय नपाउँछन् ती नीतिहरू
जसले स्कुलहरूलाई कफन ओढाएको छ?

तिमी मलाई देशद्रोही भन्न सक्छौ,
तर देश मानेको छु म —
स्कुल गएकी छोरी फर्किउन् भन्ने आमाको प्रार्थनामा,
शिक्षकको टेबलमाथि टल्किने पुराना नोटबुकमा,
र शिशु कक्षाकोठामा रंगिएको सपना-पर्खालमा।

म देशभक्त छु —
तर नेताहरूको होइन,
नारा र झुठो घोषणापत्रको होइन,
देशको भविष्यमा जिउँदै जलिरहेका
बालबालिकाहरूको देशभक्त।

अब समय आयो —
सङ्घर्षलाई गीत बनाउने,
विद्रोहलाई गजल बनाउने,
र क्रान्तिलाई कविता बनाउने।

म विद्यार्थी मार्ने देशको नागरिक हुँ —
तर अब म चुप बस्ने छैन।

लेखक : निर्मला बम 
 सुदुरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्यम्पस खलंगा दार्चुला

Leave A Reply

Your email address will not be published.