दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हालै कारागार कार्यालयबाट बाहिरिएका कैदीबन्दीहरूलाई तत्काल कारागारमा फर्कन निर्देशन दिएको छ ।
संयमता कायम गर्न र फरार कैदीबन्दीको खोजीकार्यमा सहयोग गर्न भन्दै आज एक सूचना सार्वजनिक गदैँ प्रशासनले फरार कैदीबन्दीलाई कारागारमा फर्कन निर्देशन दिएको हो ।
प्रशासनले सूचना मार्फत कारागार कार्यालयबाट फरार रहेका कैदीबन्दीहरुको खोजीकार्य जारी रहेको भन्दै आफ्नो टोल, छिमेक वा कार्यक्षेत्रमा त्यस्ता कुनै व्यक्ति लुकीछिपी बसेको वा फेला परेमा नजिकको प्रहरी चौकी सुरक्षा निकाय तथा सिधै कारागार कार्यालयमा सूचना उपलब्ध गराई खोजीकार्यमा सहयोग गरिदिन सरोकारवाला सबैपक्षलाई आग्रह गरेको छ ।
गत मंगलबार भदौ २४ गते राती जेन–जीको आन्दोलनका क्रममा कारागारबाट ७१ जना कैदीबन्दीहरू फरार रहेका थिए । यी मध्ये आज सम्म ४२ जना कारागार फर्किएका छन ।अन्य बाकी रहेकाहरुलाई पनि तत्काल कारागारमा फर्कन
निर्देशन दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
अहिले कारागार कार्यालय दार्चुलामा ७७ जना कैदीबन्दीहरुको र ६जनाले कारागार छोड्न नमानेपछि उनीहरु पनि कारागारमै रहेको प्रजिअ पौडेलले बताउनु भयो । प्रशासनले फरार कैदीबन्दीहरूलाई कानूनी दायरामा फर्कन चेतावनी
दिँदै समाजमा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
यो घटनाले कारागार सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरेको छ भने जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रशासन थप सक्रिय भएको देखिएको छ ।
यस्तै प्रशासनले फरार कैदीबन्दीहरूलाई खोजिकार्यमा सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका वडा अध्यक्षलाई समेत निर्देशन दिएका छन ।
प्रशासनले जारी गरेको सूचना हेर्नुस
