बुढी पाेल्ने पर्वकाे ऐतिहासिक महत्त्व र सामाजिक प्रभाव

मान सिंह धामी

दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बुढी पोल्ने पर्व उत्साहपूर्वक मनाइन्छ । विजय उत्सवका रूपमा मनाइने यो पर्वमा भगवान श्रीकृष्णले राक्षसी पुतनालाई मारेको सम्झनामा प्रतीकस्वरूप तयार गरिएको ‘बुढी’ जलाउने गरिन्छ । परम्पराअनुसार भाद्र संक्रान्ति (ओल्के) का दिन गाउँका गोठालाहरूले रूखका हाँगा–बिंगा, झ्याङ तथा बोटबिरुवा जम्मा गरी बुढी बनाउने गर्दछन् । असोज संक्रान्तिको साँझ त्यसलाई दोबाटो वा खुला स्थानमा राखी गाउँलेहरूले घर–घरबाट राँको लिएर एकैपटक जलाउने प्रचलन छ । यस क्रममा काँक्रो खाँदै “थुई बुढी थुई” भन्दै पुतलीमा फ्याँक्ने र जलेको खरानी गाईलाई तिलक लगाउने परम्परा रहिआएको छ । यसो गरे पशुमा रोग नलाग्ने धार्मिक जनविश्वास छ ।
बुढी पोल्नु पर्व सुदूरपश्चिम नेपालको एउटा सांस्कृतिक तथा धार्मिक पर्व हो जुन असोज संक्रान्ति अर्थात् असोज – १ गते मनाइन्छ । यस पर्वको सुरुवात पुराणमा पाइन्छ, जहाँ भगवान् श्रीकृष्णले राक्षसी पुतनालाई मारेर विजय प्राप्त गरेको सम्झनामा यो पर्व मनाइने परम्परा छ। यस पर्वमा “बुढी” अर्थात् पुतनाको पुत्ला बनाएर जलाउने गरिन्छ । यो जलाउने क्रियाले राक्षसी प्रवृत्तिको अन्त्य र शुभ विजयोत्सवको प्रतिनिधित्व गर्दछ । बुढी पोल्नुको महत्त्व मुख्य रूपमा विजय उत्सवका रूपमा रहेको छ, जसले बिषम परिस्थिति र नकारात्मक शक्तिको अन्त्य गरी नयाँ सुरुवात र शुभ स्वास्थ्य, समृद्धिको कामना गर्ने सांस्कृतिक र धार्मिक अर्थ बोकेको छ । यसैगरी नै यो पर्वले समुदायमा सामाजिक एकता र सद्भाव पनि जगाउँछ । यो पर्व खास गरेर सुदूरपश्चिमका पहाडी क्षेत्रमा धुमधामका साथ मनाइन्छ र यसमा भाग लिनेले पुतनालाई प्रतिकात्मक रूपमा नष्ट गरेर नकारात्मक शक्तिहरू हटाउने विश्वास राख्दछन् । साथै, जलाएको पुत्लाको अबशेष गाईवस्तुलाई तिलक गर्न प्रयोग गरिन्छ जसले रोग नलाग्ने धार्मिक आस्था बनाएको छ ।
बुढी (पुतनाको पुत्ला) तयार गरी गोठबाट निकालेर दिनभर घाममा सुकाउने गरिन्छ । साँझ परम्परागत रूपमा त्यस पुत्लालाई सल्ला वा अन्य रूखका हाँगा जोडेर दोबाटामा लगेर जलाइन्छ ।
जलाएको पुत्लाबाट निस्केकाे खरानीलाई तिलकको रूपमा गाईलाई लगाइन्छ, जसले पशु चौपायामा रोग नलाग्ने धार्मिक जनविश्वास रहेकाे छ । जलाउने समयमा “थुई बुढी थुई” भन्दै समर्पण गरिन्छ । जसको अर्थ नकारात्मक शक्तिहरूको नष्ट हुनु हो ।
सामाजिक अनुष्ठान :
गाउँका मानिसहरू विशेषगरी नव तन्नेरीहरू मिलेर रुखका हाँगाबिगा, झ्याङ्ग र अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाउँछन् जसलाई “बुढी हालेको” भनिन्छ । सबै घरबाट एउटै समयमा आगोको राँको निकालेर बुढी जलाउने चलन छ । जलाएपछि गाउँमा काँक्रा खाएर लुतो बाँड्ने प्रचलन छ । रातभरी सांस्कृतिक कार्यक्रम जस्तै डेउडा र भुवा नृत्य सञ्चालन गरिन्छ जसले सामाजिक मेलमिलापलाई बढावा दिन्छ । जलाएको मार्गबाट घर फर्कँदा बाटोमा बलेका दियोहरू गाड्ने चलन छ ।
यस पर्वले सुदूरपश्चिम नेपालको पहाडी र तराई क्षेत्रमा सामाजिक एकता, मेलमिलाप, र सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ । गाउँलेहरू एउटै ठाउँमा भेला भएर “बुढी” तयार पारेर जलाउँछन्, जसले समुदायभित्रको सहकार्य र परस्पर सम्मानलाई प्रवर्द्धन गर्छ । यो पर्व नकारात्मक शक्ति र रोगहरूलाई टाढा गर्ने र शुभ स्वास्थ्य तथा समृद्धिको कामना गर्ने सांस्कृतिक विश्वासलाई जीवित राख्छ ।
साथै यो पर्वले परम्परा र सांस्कृतिक धरोहर जगेर्ना गर्न मद्दत पु-याएको छ, विशेषगरी युवापुस्ताहरूमा स्थानीय संस्कृतिप्रति सांस्कृतिक चेतना बढाएर यसलाई निरन्तरता दिन प्रेरित गर्छ । पर्वका अवसरमा हुने सांस्कृतिक कार्यक्रमहरू, गीत, नृत्य आदिले समुदायको सांगीतिक र नृत्यात्मक सांस्कृतिक अभिव्यक्तिलाई मजबुत बनाउँछन् । यसरी बुढी पोल्ने पर्वले सामाजिक सद्भाव, सांस्कृतिक पहिचान, र समुदायिक पुनरुत्थानमा योगदान पुर्‍याउँदै आएको छ र अहिले पनि यसको महत्त्व कायम छ ।
Man singh Dhami
मान सिंह धामी (औल्लेकी) जेन-एक्स
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला

Leave A Reply

Your email address will not be published.