समानुपातिक प्रणाली दलहरूको ‘सांसद बिक्री केन्द्र’ बन्दै गएकोमा जेन जी नेत्री रक्षा बमको गम्भीर टिप्पणी
समानुपातिक प्रणाली दलहरूको ‘सांसद बिक्री केन्द्र’ बन्दै गएकोमा जेन जी नेत्री रक्षा बमको गम्भीर टिप्पणी
काठमाडौं । जेन जी नेत्री रक्षा बमले नेपालको संविधानले सुनिश्चित गरेको समानुपातिक प्रतिनिधित्व प्रणालीमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। सदियौँदेखि पछाडि पारिएका समुदाय, क्षेत्र र उनीहरूको आवाजलाई संसदमा प्रतिनिधित्व गराउने उद्देश्यले ल्याइएको समानुपातिक प्रणाली आज राजनीतिक दलहरूको स्वार्थपूर्तिको साधनमा सीमित हुँदै गएको उनको भनाइ छ।
उनले लेखेकी छन्, “निश्चित वर्गको हालीमुहाली तोड्न, असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो। तर दुःखद कुरा के छ भने हजारौँको बलिदानबाट प्राप्त यही प्रणालीलाई दलहरूले आज सांसद पद बिक्री केन्द्र बनाएका छन्।” समानुपातिक सूचीमार्फत आफ्ना नातेदार र पहुँचवालालाई अघि सार्ने प्रवृत्तिले प्रणालीको मर्म नै मरेको उनले उल्लेख गरेकी छन्।
रक्षा बमका अनुसार दलहरूले सार्वजनिक गरेका समानुपातिक सूचीले आफूलाई गहिरो पीडा दिएको छ। “सूची हेर्दा मन खिन्न भयो,” भन्दै उनले दलहरूको व्यवहारले संविधानको भावना र जनआकांक्षामाथि चोट पुगेको बताइन्।
यसै सन्दर्भमा उनले सुदूरपश्चिमप्रति राज्यको बेवास्तामाथि पनि प्रश्न उठाएकी छन्। “मेरो सुदूर अझै पनि सुदूर नै छ,” भन्दै उनले सुदूरपश्चिमका मानिस, समुदाय र राजधानीबाट वर्षौँदेखि अपहेलित भूगोल पनि नेपालको मानचित्रकै हिस्सा भएको कुरा राज्यले बिर्सँदै गएको टिप्पणी गरेकी छन्।
पुष १५ को अवसर पारेर उनले सुदूरपश्चिमवासीलाई शुभकामना दिँदै भावुक अभिव्यक्ति दिएकी छन्। “यतिखेर म आफ्नो भूगोलबाट टाढा छु। रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस्। बिहान चियासँग सुख र समृद्धि पुकार्दै खाउँला,” भन्दै उनले संस्कृतिसँग जोडिएको अनुभूति व्यक्त गरिन्।
तर भावनासँगै उनको सन्देश स्पष्ट छ—सुदूरपश्चिम अझै पनि देशको केन्द्रबाट टाढा छ। “हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौँ,” उनले लेखेकी छन्। राज्यसत्तालाई निरन्तर सम्झाइरहनुपर्ने अवस्था अझै कायम रहेको भन्दै उनले जोड दिइन्, “सुदूर पनि यही देशको मानचित्रमा पर्छ भन्ने कुरा सत्ताले बुझ्नैपर्छ भन्दै उनले आफ्नो फेसबकमा लेखेकीछन।
रक्षा बमको यो टिप्पणीले समानुपातिक प्रतिनिधित्वको वास्तविक उद्देश्य, राजनीतिक दलहरूको भूमिकामाथि प्रश्न उठाउँदै सुदूरपश्चिमजस्ता क्षेत्रको आवाज फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।