माओवादी उम्मेदवार भट्टद्वारा दार्चुलामा घरदैलो अभियान सुरु

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी माओवादी का तर्फबाट दार्चुला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इन्जिनियर नवराज भट्टले जिल्लामा औपचारिक रूपमा घरदैलो अभियान सुरु गर्नुभएको छ। सोमबारदेखि सुरु भएको घरदैलो तथा भेटघाट कार्यक्रम अन्तर्गत दार्चुलाका विभिन्न स्थानीय तहहरूमा चुनावी गतिविधि तीव्र बनाएको छ।
उम्मेदवार भट्टले स्थानीय बासिन्दाको घर–घरमा पुगेर प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी प्रतिबद्धता र पार्टीका एजेन्डा प्रस्तुत गर्नुभएको छ। भेटघाटका क्रममा स्थानीय बासिन्दाले भट्टप्रति चासो देखाउँदै स्थानीय समस्या, विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा खुला छलफल गरेका छन्।
घरदैलो कार्यक्रममा माओवादी नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको उम्मेदवार भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार जनतासँग प्रत्यक्ष संवाद गर्न पाउँदा जनभावना बुझ्न सहज भएको र चुनावी अभियान थप ऊर्जा प्राप्त भएको छ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर २ मटेला निवासी नवराज भट्ट पेशाले इन्जिनियर हुन। उहाँ विगत ११ वर्षदेखि इन्जिनियरिङ पेसामा आबद्ध रहँदै आउनुभएको छ। प्राविधिक ज्ञान, अनुभव र विकास निर्माणमा संलग्न रहँदै आएको अनुभवलाई राजनीतिक माध्यमबाट जनताको सेवामा प्रयोग गर्ने उद्देश्यसहित आफू राजनीतिमा होमिएको भट्टले बताउनुभयो।
उम्मेदवार भट्टले दार्चुला जिल्लाको समग्र विकास, दुरदराजका बस्तीमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, रोजगारी सिर्जना तथा सुशासन कायम गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो। साथै युवाहरूको पलायन रोक्न स्थानीयस्तरमै अवसर सिर्जना गर्न आवश्यक रहेको उहाँको धारणा छ।
माओवादीका उम्मेदवार भट्टले आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘गुलाफ’ मा मत दिएर विजयी गराइदिन सम्पूर्ण मतदातासमक्ष अपिल गर्नुभएको छ। आज सोमबार शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नायलमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको र आगामी दिनहरूमा जिल्लाका अन्य क्षेत्रहरूमा समेत अभियानलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.