दार्चुला । दार्चुलामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकामको गल्फैमा कार्यालय स्थापना गरिएको जिल्ला आर्थिक गणना अधिकारी निरज ओझाले जानकारी दिए ।
नेपाल सरकारको गत मंसिर १५ गते बसेको मन्त्रीपरिषदको निर्णय अनुसार आर्थिक गणना सञ्चालन सम्बन्धि प्रशासनिक तथा आर्थिक मापदण्ड २०८२ को दफा ५ बमोजिम जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको उनले बताए । यहि चैत्र १ गते देखि २०८३ असार मसान्तसम्म जम्मा ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको बताइएको छ ।
आर्थिक गणना कार्यालय स्थापना भएसँगै दोश्रो राष्ट्रिय आर्थिक गणनाको कामलाई अघि बढाउने काम भइरहेको छ । नेपालमा पहिलोपटक २०७५ साल वैशाखमा आर्थिक गणना भएको थियो ।
आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रहरुको गणना गरिने कार्यालयले जनाएको छ । आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने गणना अधिकारी निरज ओझाले जानकारी दिए ।