नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकनको निस्सा पार्टी एकताका लागि ‘अन्तिम अवसर’ भएको बताएका छन् । खड्काले सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सा कांग्रेसलाई एकताबद्ध गर्ने अन्तिम अवसर भएको बताएका हुन् ।
सामाजिक फेसबुकमार्फत आइतबार अपिल जारी गर्दै खड्काले पछिल्ला तीन दिनमा पार्टीकै नेताकार्यकर्ताबाट सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीले आफूलाई चिन्तित बनाएको बताएका हुन् । ‘पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ खड्काले लेखेका छन् ।
उनले मुलुकको राष्ट्रियता संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधानमाथि षड्यन्त्र भइरहेको र कांग्रेस इतिहासकै कमजोर तथा प्रतिकूल अवस्थामा रहेको भन्दै अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको उल्लेख गरेका छन् ।
पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गरी संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्ने खड्काको भनाइ छ । उनले पार्टीका जिम्मेवार व्यक्तिहरूलाई व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ एकताका लागि निर्णायक अग्रसरता लिन आग्रह गरेका छन् ।
उनले पार्टी सभापति गगन थापालाई विशेष आग्रह गर्दै तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुन अपिल गरेका छन् । ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिम मोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ । तर यहाँनिर स्पष्ट हुन जरुरी छ, निर्णायक तपाईं हो–तपाईं ! पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका र भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल’, उनले लेखेका छन् ।
खड्काले राष्ट्र रहे बहुदलीय लोकतन्त्र र पार्टी रहने भन्दै सामाजिक सञ्जालमा हुने दोहोरी, गालीगलौज र आरोप–प्रत्यारोप बन्द गर्न पनि आग्रह गरेका छन् । उनले आपसी विवाद र विभाजनले अन्ततः सबै कुरा ‘खरानी’ हुने चेतावनीसमेत दिएका छन् ।
