दार्चुलामा गौरा पर्व राति ९ बजेभित्र कार्यक्रम सम्पन्न गर्न प्रशासनको निर्देशन

दार्चुला । सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक पर्व गौरा पर्वलाई मर्यादित, सभ्य, अनुशासित तथा शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै गौरा पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रम तथा देउडा खेललाई व्यवस्थित बनाउन आग्रह गरेको हो।

प्रशासनका अनुसार गौरा पर्वका अवसरमा पर्व अवधिभर आयोजना गरिने सम्पूर्ण सांस्कृतिक कार्यक्रम, देउडा खेल तथा मेलालाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुपर्नेछ।

साथै, रातिको समयमा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै २०८३ भदौ १८, १९ र २० गते राति ९ बजेसम्म अनिवार्य रूपमा कार्यक्रम सम्पन्न गरिसक्नुपर्ने निर्देशन दिइएको छ।

त्यस्तै, मेला तथा सांस्कृतिक स्थलहरू र निषेधित क्षेत्रमा मादक पदार्थको बिक्री–वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

गौरा पर्वका अवसरमा धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै कुनै पनि किसिमका कानुनविपरीत गतिविधि नगर्न, अशान्ति वा उच्छृङ्खलता सिर्जना हुने कार्य नगर्न सम्बन्धित सबैमा प्रशासनले अनुरोध गरेको छ।

सूचनाको उल्लङ्घन गरी कानुनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.