सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले सर्वोच्च अदालतमा कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक’ लाग्ने बताएका छन् । ‘सम्बन्धित सबैमा प्रष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन / रहने छैन,’ खड्काले लेखेका छन् ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्नुको कारणसमेत उनले यही विवाद भएको बताएका छन् । थापा नेतृत्वको पार्टीबाट टिकट लिएर निर्वाचनमा सहभागी हुनु आफूले सर्वोच्च अदालतमा उठाएको कानुनी दाबीविपरीत हुने उनको तर्क छ ।
‘सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेरो विश्वासका कारणले म चुनावमा उम्मेदवार बनिनँ,’ उनले भनेका छन् ।
खड्काका अनुसार सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफ्नो दाबीको विपरीत निर्णय आएपछि पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको थियो । पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको उनको दाबी छ ।
उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै खड्काले असन्तुष्टि जनाएका छन् । ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,’ उनले भने ।
यद्यपि, पार्टी विभाजन रोक्न आफूहरूबाट अन्तिम प्रयास भइरहेको उनले बताएका छन् ।
खड्काले कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र सीमित नहुने दाबीसमेत गरेका छन् । ‘यदि नेपाली कांग्रेस पार्टी विभाजन भयो भने यसबाट केवल हामी कांग्रेसजनको क्षति मात्र हुने छैन, यसले नेपालको लोकतन्त्रसँगसँगै पार्ने बहुआयामिक दुष्प्रभाव भयानक हुन सक्ने सम्भावना लाई नजरअन्दाज गर्न मिल्ने खालका संकेतहरू देखिँदै छन्,’ उनले लेखेका छन् ।
यसैबीच उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसमक्ष विचाराधीन पुनरावलोकनको मुद्दालाई प्राथमिकतामा राखेर यथाशीघ्र फैसला गर्न आग्रह गरेका छन् ।
