दार्चुला । भारतको पिथौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा सिल्ट सफाइ गर्ने प्रयोजनका लागि ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै आगामी असोज ११ गते आइतबार राति १२ बजेदेखि असोज १२ गते सोमबार बिहान १० बजेसम्म धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा सिल्ट सफाइको कार्य हुने जनाएको छ ।
तदनुसार उक्त कार्य सेप्टेम्बर २७ राति १२ बजेदेखि सेप्टेम्बर २८ बिहान १० बजेसम्म सञ्चालन हुनेछ । करिब ३४ घण्टासम्म सञ्चालन हुने सिल्ट सफाइका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षबाट प्राप्त भएको प्रशासनले जनाएको छ ।
भारतको एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, तपोवन, धार्चुला, पिथौरागढबाट यस सम्बन्धमा पत्राचार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाँधको ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

