दार्चुला । नेपाली कांग्रेस दार्चुलाले १५औँ महाधिवेशनअन्तर्गत हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मतदान समय संशोधन गरेको छ।
जिल्ला निर्वाचन समिति, दार्चुलाले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार यसअघि २०८३ असोज १२ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।
तर प्रतिकूल मौसमका कारण बाटो अवरुद्ध भई सवारीसाधन सञ्चालन हुन नसक्दा केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय अधिवेशन प्रतिनिधिहरूलाई मतदानस्थलमा पुग्न असहज भएको भन्दै समय संशोधन गरिएको हो।
संशोधित कार्यतालिका अनुसार अब असोज १३ गते भोली विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन अधिकृत हरिश्चन्द्र जोशीले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पनि प्रतिकूल मौसम भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
