दसैँ–तिहारको सुरक्षामा दार्चुलामा ४२६ प्रहरी परिचालन

दार्चुला । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाभर ४२६ जना प्रहरी परिचालन गरेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै शान्तिसुरक्षा कायम गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बुढाथोकीका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सुरक्षित बनाउनुका साथै सम्भावित आपराधिक घटना नियन्त्रण गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उनले बताए।

दसैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रा र मेलालाई लक्षित गरी सम्बन्धित क्षेत्रमा समेत सुरक्षाकर्मी खटाइएको छ। जात्रा तथा मेला शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीले निगरानी बढाएको जनाएको छ।

त्यसैगरी, दसैँ तथा तिहारका समयमा हुन सक्ने जुवातासजन्य गतिविधि नियन्त्रण गर्न प्रहरीले सूक्ष्म निगरानी गरिरहेको छ। यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। मार्माको लटिनाथ, नौगाडको होपरीगाड, शैल्यशिखरको गोकुलेश्वर र जिल्ला सदरमुकाम खलंगामा सहायता कक्ष स्थापना गरिएका हुन्। ती कक्षमार्फत समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग तथा समन्वय गरिँदै आएको छ।

यसैगरी, भारतसँग सीमा जोडिएका जिल्लाका छ वटा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। चाडपर्वका समयमा सीमावर्ती क्षेत्रमा हुने आवतजावतलाई सहज बनाउनुका साथै नागरिकलाई आवश्यक सहायता उपलब्ध गराउने उद्देश्यले ती कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए।

चाडपर्वका बेला यात्रुको भीडभाड बढ्ने भएकाले ट्राफिक नियम उल्लङ्घन तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पनि प्रहरीले सक्रियता बढाएको छ। यात्राको क्रममा हुन सक्ने समस्या तथा दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बुढाथोकीले जिल्लावासीलाई दसैँ तथा तिहारको शुभकामना व्यक्त गर्दै चाडपर्वलाई सभ्य, भव्य र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.