दार्चुला । मालिकार्जुन राष्ट्रिय धाममा मंसिर ७ गते लाग्ने रात्रिकालीन जात्राको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै दार्चुला जिल्लाभर सवारी साधन चेकजाँचमा कडाइ गरिएको छ।
जात्रालाई शान्तिपूर्ण, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले प्रहरीले जिल्लाभर सञ्चालन हुने सवारी साधनमाथि निगरानी बढाएको हो।
प्रहरी टोलीले सवारी साधनमार्फत मादक पदार्थ तथा अवैध वस्तुको ओसारपसार भए–नभएको, क्षमताभन्दा बढी यात्रु तथा सामान राखेर सवारी सञ्चालन गरिएको अवस्था र चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको विषयमा कडाइका साथ चेकजाँच गरिरहेको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज भाटका अनुसार जात्राको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सवारी साधनमाथिको चेकजाँच थप कडा पारिएको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लाभर नियमित निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।
प्रहरीले यात्रु तथा चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र कुनै पनि अवैध वस्तुको ओसारपसार नगर्न आग्रह गरेको छ।